काठमाडौं, २९ कात्तिक। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ बजे सचिवालय बैठक डाकेका छन्। प्रधानमन्त्री ओलीले केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकल कार्यकारी अधिकार दिने निर्णय गराउन सचिवालय बैठक डाकेका हुन्।
आज बिहान ९ बजे बालुवाटारमा बस्ने नेकपा सचिवालय बैठकले संभवतः प्रचण्डले कार्यकारी अध्यक्षका हैसियतमा पार्टीको नेतृत्व गर्ने र प्रधानमन्त्रीमा ओली नै निरन्तर रहने निर्णय गर्नेछ। मन्त्रीपरिषद् हेरफेर अघि दुई जना अध्यक्षको कार्य्विभाजन गर्न शुक्रबार बिहान सचिवालय बैठक डाकिएको नेकपाका एक उच्च नेताले बताए। सचिवालयको बैठक बोलाउनुअघि बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डबीच करिव डेढ घण्टा छलफल भएको थियो।
‘शुक्रबार मन्त्रीपरिषद हेरफेरको निर्णय गर्न होइन, अध्यक्षहरूको कार्य्विभाजनका लागि सचिवालय बोलाइएको हो’, नेकपाका उच्च नोताले भने, ‘संभवतः ओलीले प्रधानमन्त्रीका हैसियतमा निरन्तर सरकारको नेतृत्व गर्ने र प्रचण्डले एकल कार्यकारी अध्यक्षका हैसियतमा पार्टीको नेतृत्व गर्ने निर्णय हुनेछ।’
आजको सचिवालय बैठकबाट कार्य्विभाजनको निर्णय यदि भएन भने यस्तो निर्णय गर्नका लागि स्थायी समिति बैठक बोलाउने सहमती पनि हुन सक्नेछ। यसअघिको तयारी अनुसार शुक्रबार वा यो साताभित्र मन्त्रीपरिषद हेरफेर भैसक्नु पर्ने भएपनि पहिले अध्यक्षको कार्यविभाजन गर्ने गरी त्यसलाई केही दिन पर सारिएको हो।
‘अब अध्यक्षद्वयसहित नेताहरूको कार्य्विभाजन भएपछि मात्रै मन्त्रीपरिषद हेरफेर हुनेछ, त्यसका लागि अझै केही दिन लाग्ने देखिन्छ’, एक जना प्रभावशाली मन्त्रीले भने। करिव दुई वर्षअघि एमाले र माओवादी केन्द्रबीच एकता हुने बेलामा नै ओली र प्रचण्डबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने लगायत चार बुँदे सहमती भएको थियो। त्यो सहमती लागू गर्ने हो भने अबका केही महिनापछि ओलीले प्रधानमन्त्री पद प्रचण्डलाई छोड्नु पर्ने हुन्छ।
तर अध्यक्ष प्रचण्डले यदि पार्टी र सरकारको जिम्मेवारी छुट्याएर कार्यविभाजन गर्ने हो भने ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्न सक्ने बताउँदै आएका छन्। त्यसैअनुसार करिव ३ महिना पहिले प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघि दुई अध्यक्षबीच प्रचण्डले एकल कार्यकारी अध्यक्षका रुपमा पार्टीको र ओलीले निरन्तर सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।
तीन महिनासम्म त्यो सहमति कार्यान्वयन नहुँदा पार्टीभित्र अन्योल बढेको थियो। तर पछिल्लो समय पार्टी र सरकारसँग सम्बन्धित धेरै विषय टुंग्याएर मृगौलाको थप उपचारका लागि विदेश जाने तयारीमा रहेका ओली अन्ततः प्रचण्डलाई एकल कार्यकारी अध्यक्षको अधिकार दिन तयार भएका नेकपाका उच्च स्रोतहरूले जनाएको छ।
एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बने पनि कालान्तरमा पार्टीको नेतृत्व कसले हत्याउने भन्ने होडबाजी चलिरहेको छ।
प्रचण्डलाई एकल कार्यकारी अध्यक्ष बनाउने निर्णय यदि शुक्रबार भयो भने संभवतः पार्टी एकतापछि त्यसलाई संस्थागत गर्ने यो सबैभन्दा महत्वपूर्ण निर्णय हुनेछ, जुन सरकारको स्थायित्वसँग पनि जोडिएको छ। यस्तो निर्णय लिनुअघि बुधबार प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपाललाई बालुवाटार निम्त्याएर चार घण्टा छलफल गरेका थिए। एक व्यक्ति एक पदको सिद्धान्त अनुसार पार्टी चल्नुपर्ने भन्दै नेपालले पार्टीमा फरक मत नै राख्दै आएका छन्।



लाेकपाटी न्यूज

