सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्छ : मन्त्री अर्याल

padma aryal
लाेकपाटी न्यूज

विरगञ्ज, २७ कात्तिक। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने बताएकी छिन्। पर्साको विरगञ्जमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

मन्त्री अर्यालले लिपुलेख, कालापानी नेपालकै नक्सामा राखिसकेको बताइन्। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले आयोजना गरेको आ.ब. ०७५ / ०७६ को बार्षिक प्रगति समिक्षा गोष्ठी एवं प्रदेशस्तरिय दुई दिने अन्तरक्रिया कार्यक्रमा सहभागी हुन मन्त्री अर्याल वीरगञ्ज पुगेकी हुन्।

भारतले नयाँ नक्सा निर्माणमा नेपालको लिपुलेख पनि उतै राखेको सन्दर्भलाई संकेत गर्दै मन्त्री अर्यालले भनिन्, ‘लिम्पियाधुराको सवालमा प्रमाणहरु जुटाउँदै गरेको छ । लिपुलेख र कालापानी नेपालको नक्सामा नै राखिसकियो ।’

आफ्नो भूमि जोगाउन सरकारले कुनै कसर बाँकी नराख्नेसमेत बताइन्। ‘यो सरकारले लिपुलेख, कालापानी र लिम्पियाधुरा लगायतको नेपाली भूमि जोगाउन कुनै कसर बाँकी राख्दैन । ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छोड्छ’, उनले भनिन्।

पार्टीको नेतृत्व गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल र जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड जस्ता व्यक्तिहरु भएको पार्टीको नेतृत्वमा बनेको सरकारले एक इञ्च पनि नेपाली भूमि अरुकोमा पार्न नदिंने उनको भनाइ थियो । मन्त्री अर्यालले भनिन्, ‘अझ केपी शर्मा ओली नेतृत्वको यो सरकारले यस्ता कुरामा कुनै खुट्टा कमाउँदैन ।’

लोकतन्त्रको प्राप्तिसँगै जनताको अभिमतबाट आएको दुईतिहाईको सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर अगाडि बढिरहेको बताउँदै मन्त्री अर्यालले भनिन् ‘अब सरकारले विकासको खाका मात्र बनाउँदैन। कामको प्रतिफल देखिने गरी काम गर्छ ।’

सरकारले गरेका राम्रा कामको भने सहि प्रचार हुन् नसकोको उनको गुनासो छ । राम्रा कामको ठोस कुरा जतनामा लान पार्टी कार्यकर्तालाई उनले सुझाव दिइन्। सामाजिक सञ्जाल र बाहिर जता पनि प्रतिपक्षका मात्र कुरा आउँदा फिल्डजति सबै प्रतिपक्षलाई छाडेर चुप बसेको जस्तो देखिएको भन्दै कम्तिमा राम्रा कामको प्रचार गर्न पार्टी कार्यकर्तालाइ आग्रह गरिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्