काठमाडौं, २६ कात्तिक। वैदेशिक रोजगार विभागले आजदेखि अनलाइनमार्फत् नै श्रम स्टिकर (इ–स्टिकर) जारी गर्ने भएको छ। वैदेशिक रोजगारीमा जाने व्यक्तिको राहदानी टाँस्ने स्टिकरको सट्टा इ–स्टिकर जारी गर्न लागिएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए।
आजदेखि व्यक्तिगत श्रम स्वीकृति लिने र लिगलाइजेनशनबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई इ–स्टिकर प्रदान गरिनेछ। सोमबार इ–स्टिकरको परीक्षण गरिएको थियो। शुक्रबारबाट सबै प्रकारको श्रम स्वीकृतिमा इ–स्टिकर जारी गर्ने विभागको तयारी छ। प्रविधिको प्रयोग गरी गठी तथा अवैध रुपमा विदेश जाने प्रक्रिया रोक्ने विभागको योजनामा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।
श्रममन्त्री गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्लेलगत्तै मातहतको कार्यालयमा प्रविधिको प्रयोग गरी छिटोछरितो तथा भरपर्दो सेवा सुविधा प्रवाहका लागि निर्देशन दिँदै आएका छन्।
अनलाइनबाटै स्टिकर जारी भएसँगै नक्कली स्टिकर बनाई अवैध रुपमा भारतको बाटो हुँदै विदेश पठाउने क्रम अन्त्य हुनेछ। त्यस्तै स्टिकर छपाइमा लाग्ने खर्च पनि जोगिने विभागले जनाएको छ।अनलाइनबाट जारी गरिने स्टिकर आफूलाई चाहिएको बेला जुनसुकै ठाउँबाट पनि प्रिन्ट निकाल्न सकिनेछ।



लाेकपाटी न्यूज

