काठमाडौं, २५ कात्तिक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्न लागेको हो।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा आइतबार भएको छलफलपछि आज सचिवालय बैठक डाकिएको नेकपाले जनाएको छ। बैठकमा पार्टी एकताको टुंगो लगाउनेलगायत विषयमा छलफल हुनेछ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै सार्वजनिक कार्यक्रममा कात्तिक २५ मा पार्टी एकता टुंगोमा पुग्ने बताइसकेका छन्। पार्टीको पोलिटव्युरो गठन र केही केन्द्रीय समितीको समेत जिम्मेवारी वाँडफाँड हुन सकेको छैन। आजको बैठकले ती सबै विषयको टुंगो लगाउने गरी तयारी गरिएको बताइएको छ।
आजको बैठकबाट निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन हुने बताइएको छ।
बैठकमा सरकारका मन्त्रीहरू हेरफेका विषयमा पनि छलफल हुने सम्भावना छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सदस्यहरूलाई यसअघि नै राजीनामा गर्न लगाएको र मन्त्रीहरूको कामप्रति पनि असन्तुष्ट रहेकाले मन्त्रीमण्डल फेरफेरको सम्भावना रहेको उच्चस्रोतले जनाएको छ। पार्टी एकता र सरकार संचालनका विषयमा यसअघि दुई अध्यक्षबीच पटकपटक छलफल भएका छन्।



लाेकपाटी न्यूज

