झापा जिल्ला : एक परिचय

Jhapa District
लाेकपाटी न्यूज

झापा प्रदेश नं.–१ मा रहेको अत्याधिक उर्वर तथा घनाबस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराईमा पर्दछ। वि.सं. २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ। यो जिल्लाको क्षेत्रफल १६०६ वर्ग कि.मि. रहेको छ। यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सीमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार राज्य रहेको छ। यसको उत्तरमा इलाम तथा पश्चिममा मोरङ जिल्ला रहेको छ।

समुन्द्री सतहबाट नेपालको सबैभन्दा होचो भू–भाग केचनाकवल ५८ मी. र नेपालको सबैभन्दा लामो पक्की पुल कन्काई नदीमा ७०२ मी. पनि यसै जिल्लामा पर्दछन्। यहाँका प्रमुख व्यापारिक शहरहरू बिर्तामोड, दमक र काकरभिट्टा हुन्। यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरूमा कनकाई धाम कोटीहोम, अर्जुनधारा जलेश्वर धाम, जामुनखाडी सीमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम आदि पर्दछन्। झापाका प्रमुख नदीहरुमा कनकाई नदी, बिरिङ नदी, रतुवा नदी, मावा नदी, र मेची नदी रहेका छन्।

झापा जिल्लामा ५ निर्वाचन क्षेत्र रहेका छन्। १५ स्थानीय तह रहेको झापामा दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, कन्काइ नगरपालिका, बुद्धशान्ति गाउँपालिका, मेचीनगर नगरपालिका, गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, कमल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, झापा गाउँपालिका, कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिका रहेका छन्।

जिल्लाका मुख्य भाषाहरू नेपाली, लिम्बू भाषा, राई भाषा, मैथिली, सतार भाषा, ताजपुरिया, राजवंशी हुन्। प्रमुख जातिहरू बाहुन, क्षेत्री, लिम्बु, राई, गुरुङ, मगर, तामाङ, कोचे, मेचे, सतार, थारू, ताजपुरिया, राजवंशी, भुजेल (खवास) रहेका छन्। यस जिल्लाको सदरमुकाम भद्रपुर हो।

कसरी रह्यो झापा नाम ?

पहिले झापा जिल्लाको सम्पूर्ण प्रशासनिक कार्य मोरङ गोश्वाराले हेर्ने गर्दथ्यो। पछि उक्त मोरङ गोश्वारा हालको कुमरखोद अन्तर्गत पर्ने झापा गाउँमा सारियो, जुन गाउँ हाल पनि कुमरखोदमा झापा बजार नामले चिनिन्छ। तसर्थ त्यस झापा गाउँको नामबाटै कालान्तरमा यस ठाउँ (जिल्ला) को नाम झापा रहन पुग्यो।

झापा जिल्लाका आदिवासी जाति राजवंशीहरूको राजवंशी भाषामा झापाको अर्थ ढकनी वा बिर्को भन्ने अर्थ लाग्ने र शताब्दीऔंदेखि वन जंगलबाट ढाकिएको वा छोपिएको हुँदा यस ठाउँको नाम झापा रहन गएको भन्ने भनाइ रहिआएको छ।

जिल्लाको ऐतिहासिक पृष्ठभूमि

पृथ्वीनारायण शाहको शासन काल पूर्व मोरङ र झापामा सेन वंशको राज्य थियो। सन् १७७३ मा अभिमानसिंह बस्नेत र सरदार सारथी भण्डारीको नेतृत्वमा आएको फौजले आक्रमण गरी मोरङ र झापालाई कब्जा गरे। त्यहाँका राजा कर्णसेन भागेर धरान, विजयपुर पुगे। सन् १७७४ मा आक्रमण गरी विजयपुरलाई पनि कब्जामा लिए। अभिमानसिंह बस्नेतको नेतृत्वको फौजले पल्लो किराँतको उत्तरी सीमाना र पूर्व तमोर नदीसम्म अधिकार जमायो। सिंहलिला (फालेलुङ्ग) डाँडाको पानी ढलको पश्चिमतर्फ बसोबास गरेका र सिक्किम राज्यबाट सताइएका लिम्बू जातिहरू गोर्खालीसँग सम्झौता गरी नेपाल एकीकरणमा समाहित भएकाले पृथ्वीनारायण शाहको समयमा नेपालको सीमाना पूर्वी पहाडतर्फ सिंहलिला पहाडसम्म र मैदानतर्फ कन्काई नदी क्षेत्रसम्म फैलियो।

सन् १७८३ मा अर्थात् रणबहादुर शाहको शासनकालमा नेपालको सीमाना पश्चिमतर्फ कुमाउँ, गढवाल र पूर्वतर्फ टिष्टा नदीसम्म पुगेको थियो। तर, सन् १८१४ मा अङ्ग्रेजले बिराटनगर र रङ्गेलीबीच पर्ने ‘धनपुर’ भन्ने स्थान र झापा बजार हाल कुमरखोद गाविसमा आक्रमण गरी आफ्नो कब्जामा लियो। बाध्यतावश १८१६ मार्च ४ मा सुगौली सन्धिमा हस्ताक्षर गर्न नेपाल बाध्य भयो र मेची नदी सदाका लागि पूर्वी अन्तर्राष्ट्रिय सीमाना हुन पुग्यो।

कस्तो छ हावापानी ?

यस जिल्लामा मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ) पाइन्छ। गृष्मकालमा यहाँको तापक्रम ३२ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म पुग्दछ भने शीतकालमा १५ देखि १० डिग्री सेल्सियससम्म ओर्लिन्छ। कुनै वर्ष अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस सम्म पुगेको र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियससम्म झरेको पाइन्छ। वर्षा ऋतुमा हिन्द महासागरको बङ्गालको खाडीबाट आउने मनसुनी हावाबाट यहाँ २७१.७५ मिलि मीटरसम्म वर्षा हुने गरेको पाइन्छ। यहाँको हावापानी ज्यादै उष्ण र शुष्क हुने हुँदा स्वास्थ्यका लागि उपयोगी नभए पनि कृषि कार्यका लागि उपयोगी मानिन्छ।

जिल्लाको बनोट

जिल्लाको उत्तरी भागमा चुरे क्षेत्रबाट बग्ने नदी र खोलानालाहरूले बगाएर ल्याएको बलौटे माटो पाइन्छ, जसलाई भावर क्षेत्र पनि भनिन्छ। उक्त क्षेत्रमा बाहुनडाँगी, शान्तिनगर, बुधबारे खुदुनावारी, सुरुङ्गा, सतासीधाम, धरमपुर, तोपगाछी र लखनपुर गाविस तथा दमक नगरपालिकाहरू पर्दछन्। यस प्रदेशमा औषत न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मंसीर तथा पौष महिनामा र सबैभन्दा बढी औषत तापक्रम ४० डिग्री सेल्सियस जेष्ठ तथा असार महिनामा हुन्छ।

भावर प्रदेशमा आएर सुकेका नदीहरूले यहाँका तटवर्ती जग्गालाई सिञ्चित गरेको छ। यस भेगको माटो मलिलो छ र यो प्रदेशले ६५ प्रतिशत भूभाग ओगटेको पाइन्छ। नेपालको सबैभन्दा होचो भूभाग केचनाकवल समेत यसै क्षेत्रमा पर्दछ। यहाँको तापक्रम मध्यम पाइन्छ, जहाँ बढीमा ४० डिग्री सेल्सियस र घटीमा ०.० डिग्री सेल्सियस हुन्छ। पूर्वबाट आउने मनसुनी हावा महाभारत पर्वत श्रृङ्खलामा ठक्कर खाएर यहाँ मनसुनी वर्षा हुन्छ। सबैभन्दा बढी वर्षा असार श्रावण र भाद्र महिना र कम वर्षा मंसीर महिनामा हुन्छ। यहाँ वर्षभरिमा औषत २७१.७५ मिलिमिटर वर्षा हुन्छ।

मेची, निन्दा, बिरिङ, कन्काई, रतुवा र मावा यस जिल्लाका प्रमुख नदीनालाहरू हुन्। मेची नदी नेपालको पूर्वी सीमाना पनि हो भने मावा खोला यस जिल्लाको पश्चिम सीमाना रहेको छ। धार्मिक महत्व समेत भएको जिल्लाको सबैभन्दा ठूलो कन्काई नदी जिल्लाको बीच भागबाट बगेको छ। प्रायः सबै नदी नालाहरूको उद्गम स्थल महाभारत पर्वत श्रृङ्खला रहेको छ। ती नदीनालाहरू जिल्लाको धेरै भू–भाग सिञ्चित गर्दै भारतको बिहार राज्यतर्फ बग्दै गएका छन्।

मूख्य पर्यटकीय गन्तव्य

कनकाई धाम कोटीहोम पर्यटकीय र धार्मिक दुवै ढङ्गले पूर्ण भएको धार्मिक थलो हो। झापा जिल्लाको सम्भवत बिचबाट कनकाई नदी बगेको छ। यसैको किनारामा रहेको यस स्थानमा माघ महिनाको एक दुई र तीन गते ठूलो मेला लाग्ने गर्दछ। यस अतिरिक्त पनि बाह्रै महिना यहाँ विभिन्न ठाउँबाट आउने मानिसहरुको भीड लाग्ने गर्दछ। यस्तै अर्को बिर्तामोडदेखि उत्तरमा रहेको अर्जुनधाराधाम धार्मिक दृष्टिले झापाकै सबैभन्दा प्रसिद्ध स्थलको रूपमा रहेको छ। यहाँ बाला चतुर्दशी एवं अन्य विशेष पर्वमा मानिसको ठूलो भीड लाग्ने गर्दछ। यहाँ चारकुने एउटा पोखरी छ, जसको बीचमा अर्जुनले गाईलाई पानी खुवाएको मूर्ति स्थापना गरिएको छ, यस पोखारीमा बाह्रै महिना पानी बगिरहन्छ।

jhapa(1)

सतासीधाम झापा जिल्लाको शिवसताक्षी नगरपालिका रहेको धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो। किम्बदन्ति अनुसार पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई चिन्ने गरिन्छ। झीलझीले बजारबाट करिब ४ कि.मी. उत्तर चुरे पहाडको फेदीमा इलामको सिमानासँग जोडिएको यस स्थानमा रहेका प्राकृतिक मूर्तिका स्वरुपहरू, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरू, सतासी खोलाको एक स्थानको बीच भागमा करिब २० मिटरभित्र मात्र निस्कने गन्धक – पानी, फेदीमा रहेका अन्य मूर्तिहरुले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ। सतासीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन शतबीज छर्नका निम्ति दर्शनार्थीहरुको घुँइचों लाग्ने गर्दछ।

जामुनखाडी सिमसार क्षेत्र झापाको कनकाई नगरपालिकामा रहेको एउटा पर्यटकीय स्थल हो। यहाँ झापा मोरङ इलाम आदि विभिन्न स्थानबाट आउने मानिसहरूको भीड लागिरहन्छ। जामुनखाडी सामुदायिक वनको केही भूभागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सुरु गरिएको थियो। विश्वमै लोप हुँदै गइरहेको अजिङ्गर यहाँको आकर्षण हो। यस अतिरिक्त अनेक वन्यजन्तुहरूले यहाँको शोभा बढाएका छन्। यहाँ पर्यटकलाई आकर्षित गर्न झोलुङ्गे पुल नौका बिहार एवं आराम गर्न ठाउँ ठाउँमा चौताराहरूको निर्माण गरिएको छ।

किचकवध भन्ने ठाउँ पृथ्वीनगर गाविसमा मेची र देउनियाँ खोलाको संगममा पर्दछ। यस ठाउँलाई ऐतिहासिक धार्मिकस्थलको रुपमा लिइन्छ। महाभारतको कथाअनुसार पाण्डवहरू मत्स्यदेशका राजा विराटको दरवारमा गुप्तबास बसेको अवस्थामा विराटका साला एवं मत्स्यदेशको सेनापति किच्चकले द्रौपदीमाथि कुदृष्टि गर्यो। भीमसेनले यो कुरा चाल पाए र किच्चकको वध गरे। त्यही भीमसेनले कीचकको वध गरेको ठाउँलाई कीचकवध भनिएको हो भन्ने भनाइ छ।

केचनाकवल नेपालको सबैभन्दा होचो ठाउँ भएकोले यो पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ। यो समुद्री सतहबाट ५८ मीटर उचाइमा रहेको छ। यस क्षेत्रमा ४ बिघा जमीन ऐलानी भएको र अत्यन्त होचो भएको कारण वर्षायाममा पानी जमेर दलदलमा परिणत हुने भएकाले हिउँदमा मात्र आधार स्तम्भमा पुग्न सकिन्छ। यो ठाउँ नेपाल भारत सीमानाबाट करिब ५०० मिटर दूरीमा पर्दछ।

अनारमनी विर्ताबजार दक्षिण सैनिकमोडदेखि चारपाने गाविस क्षेत्रको माथिल्लो भागसम्ममा रहेका करिब सातवटा पोखरी रहेको क्षेत्रलाई महाभारतकालीन कथासँग जोडेर स्थानीय बासिन्दाहरू विराटपोखर भन्ने गर्दछन्। समयगढ त्रिगर्त नरेश सुशर्माले महाभारत कालमा राज्य गर्दा बनाएका गढहरु हाल तोपगाछीमा रहेको छ। यसलाई स्थानीय बासिन्दाहरु सेमेगढ पनि भन्ने गर्दछन्। चिल्लागढ कन्काई माईको किनारामा अवस्थित चिल्लागढ पोखरीमा किराँत जातीले आफ्नो पवित्र धार्मिकस्थल भनी पूजाआजा गर्ने गरेका छन्।

चन्द्रगढ चन्द्रगढीमा ६२ बिगाहा जमीनमा श्री ३ चन्द्र शमशेर आई सैनिक किल्ला कायम गरी भौतिक रूपमा गढ निर्माण गरी सानो भवन, सिसाको इनार समेत निर्माण गरिएकोमा हाल उक्त इनार भग्नावशेषका रुपमा पाइन्छ। हाल उक्त स्थानमा गौशाला र लक्ष्मी नारायण मन्दिरको निर्माण गर्ने र आवधिक योजना निर्माण गरी पर्यटकीय स्थल निर्माण गर्ने कार्यमा स्थानीय जनता, गाविस र धार्मिक तथा सामाजिक संघसस्था लागिपरेको पाइन्छ। यही चन्द्रगढको नामबाट झापा जिल्लाको सदरमुकामको नाम चन्द्रगढी रहन गएको पाइन्छ।

कृष्ण थुम्की झापा जिल्लाको बाहुनडाँगी गाविस अनतर्गत पर्ने एक धार्मिक तथा पर्यटकीय स्थल हो। धनुषकोटी धाम झापा जिल्लाको कन्काई नगरपालिकाको सुरुङ्गा बजारदेखी ३ कि।मी उत्तरमा रहेको धार्मिक स्थल हो। दोमुखा झापा जिल्लाको कन्काई नदीकोको किनारमा रहेको एउटा पर्यटकीय क्षेत्र हो। झापामा यस्ता थुप्रै धार्मिक तथा पर्यटकीय गन्तव्यहरु रहेका छन्।

मूख्य नदीहरु

मावा नदी – झापा जिल्ला र मोरङ जिल्लाको सीमा नदीका रूपमा रहेको झापाको पश्चिम सीमा भई बग्ने मावा नदीको उद्गमस्थल इलाम जिल्ला हो। यो महाभारत पर्वत श्रृङ्खलाबाट निस्किएको हुँदा यहाँ वर्षभरि नै पानी बगिरहन्छ। यस नदीबाट वर्षायाममा सिंचाई सुविधा उपयोग गरेको खण्डमा झापा जिल्लाको दमक, लखनपुर, लगायत मोरङ जिल्लाका किसानहरूले पनि फाइदा लिन सक्छन्।

रतुवा नदी – दमक नगरपालिकाको पूर्वी भाग हुँदै मावा नदीमा मिसिने यस नदीको उपजलाधार १२,४२२ हेक्टर रहेको छ। भूक्षयको दृष्टिले उपजलाधार क्षेत्रमध्ये जिल्लाको तेस्रो स्थानमा रहेकोले यस रतुवा नदीमा वर्षायाममा आउने बाढीबाट दमक नगरपालिका, लखनपुर, कोहवरा गाविसको आवादी जग्गा र बसोबास क्षेत्रलाई हरेक वर्ष क्षति पुर्याइरहेको छ। सिंचाइको सुविधाबाट वञ्चित यस भेगमा रतुवा नदीको वर्षाको पानीलाई उपयोग गर्न सकेमा भरमगदुर फाइदा लिन सकिन्छ। रतुवा नदी र मावा नदीलाई दमक नगरपालिका र लखनपुर, कोहवरा गाविसको दुःख पनि भनिन्छ।

बिरिङ नदी – इलाम जिल्ला उद्गमन स्थल रहेको बिरिङ नदी खुदुनावारी, बुधबारे, अर्जुनधारा, घैलाडुब्बा, सुरुङ्गा, डांगीवारी, चकचकी र राजगढ गाविस हुँदै भारत प्रवेश गर्दछ। २०,१५० हेक्टर उपजलाधार क्षेत्रफल रहेको यस नदी भूक्षयको दृष्टिले प्राथमिकताको क्रम अनुसार चौथो नम्बरमा आउने र वर्षाको बाढी तथा कटानका कारणले बिरिङ नदी यस क्षेत्रको अभिसाफ बन्न पुगेको छ।

मेची नदी – नेपालको पूर्वी सीमाना भई बग्ने मेची नदी पाँचथर जिल्लाको सिंगलिला (फालेलुङ्ग डाँडा) बाट उत्पत्ति भई पाँचथर, इलाम, झापा हुँदै भारत प्रवेश गर्दछ। निन्दा, हडिया, देवनिया आदि सहायक नदी रहेको यस नदीमा बाढी पहिरो भूक्षय र नदी कटानको गम्भिर समस्या उत्पन्न भएको छ। नेपाल र भारतको सीमानाको रूपमा रहेको यस नदीले आफ्नो धार वर्षेनी परिवर्तन गरिरहने हुँदा देशको सिमानामा पनि विवाद आइरहने अर्को समस्याको रूपमा पनि यसलाई लिइएको छ।

कनकाई नदी – झापा जिल्लालाई पूर्व र पश्चिम करिब दुई बराबरी भागमा बाँडेको यस नदीको उद्गमस्थल इलाम जिल्ला हो। माई, देउमाई, जोगमाई र पुवामाई मिली जिल्लाको सबैभन्दा ठूलो नदीको रूपमा परिचित यस कनकाई नदीको उपजलाधार क्षेत्र १७,९६४ हेक्टर रहेको छ। भूक्षयको दृष्टिले जिल्लाको पाँचौं क्रममा आउने र धार्मिक रूपले आफ्नो बेग्लै पहिचान बोकेको नदीको रूपमा यसलाई लिइन्छ। देशकै सबैभन्दा लामो पक्की पुल (७०२ मिटर) नदीको अर्को विशेषता हो।

झापाको व्यवसाय

झापा जिल्लामा अर्थिक व्यवसायका रूपमा अनेकौ व्यवसायहरू रहेका छन्। यहाँका अधिकांश व्यक्तिहरू कृषि पेशामा आत्मनिर्भर रहेका छन्। झापा जिल्ला नेपालकै दोस्रो धान तथा तरकारी उत्पादन गर्ने जिल्ला हो। यहाँका मानिसहरू व्यपार व्यवसायमा पनि उत्तिकै अगाडि रहेका छन्। यसका अतिरिक्त चिया उत्पादन यहाँको मुख्य उत्पादनमा पर्दछ। यहाँ माछा पालन , कुखुरा पालन, बाख्रा पालन, गाई पालन, र अहिले वर्तमान अवस्थामा मौरी पालन मुख्य व्यवसाय पर्दछन्।

प्रमुख जातिहरू

झापा जिल्ला बहुजाति बहुभाषी र विभिन्न संस्कृति तथा रितीरिवाज र परम्परा मान्ने मानिसहरुको बसोबास भएको जिल्ला हो। यहाँका प्रमुख जाति बाहुन, क्षेत्री, लिम्बु, राई, गुरुङ, मगर, तामाङ, कोचे, मेचे, सन्थाल, धिमाल, थारू, ताजपुरिया, राजवंशी, कामी, दमाई र मुसलमान जाति रहेका छन्। जनगणना २०६८ अनुसार यस जिल्लामा ११० जाति र ९० भाषाभाषीका मानिसरू बसोबास गरेको पाइन्छ। हरेक जातिका आ–आफ्नै संस्कृति परम्परा चाडपर्व आदिले गर्दा यो जिल्लामा वर्षभरि नै चाडपर्वले रमाएको हुन्छ।

स्रोत : जिल्ला प्रशासन कार्यालय झापा र विकीपीडिया।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्