हेलिकप्टर चढाएर बागी उम्मेदवारी फिर्ता गराउने प्रयास असफल

baglung
लाेकपाटी न्यूज

बागलुङ, २४ कात्तिक। बागलुङ क्षेत्र नम्बर २ को ‘ख’मा प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पर्टी (नेकपा)ले राष्ट्रिय जनमोर्चालाई साथ दिएको छ। सत्ता बागडोर सम्हालेको नेकपा र राष्ट्रिय जनमोर्चा बीच केन्द्रीय स्तरबाटै बाम गठबन्धन बनाएर जाने सहमति भएको थियो।

बागलुङमा नेकपाले राजमो उम्मेदवारलाई सघाउने निर्णयअनुसार, राजमोका खिमबिक्रम शाहीको उम्मेदवारी दर्ता गरिएको थियो। पार्टीले राजमोसँग बाम गठबन्धन गरे साझा उम्मेदवार बनाउने घोषणा गरेपछि नेकपाका नेता शेरमान घर्तीले उक्त क्षेत्रमा बागी उम्मेदवारी दिए।

पछि घर्तीको उम्मेदवारी फिर्ता गराउन नेकपाका केन्द्र र जिल्ला तहका नेताले निरन्तर प्रयास गरे। बागी उम्मेदवारी फिर्ता गराउन घर्तीलाई दिउसो १:२० मा मात्र हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो। तर घर्तीको बागी उम्मेदवारी फिर्ता गराउने नेकपाको अन्तिम प्रयास पनि बिफल भएको छ।

जिल्लाको पश्चिम बुर्तिबाङ बजारमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा भएको लामो छलफल पछि शेरमानलाई सदरमुकाम ल्याइए पनि उम्मेदवारी फिर्ता भएन।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको अन्तिम समय निर्धारण गरिएको थियो। उक्त अवधिसम्ममा कुनै पनि उम्मेदवारले मनोनयन फिर्ता नगरेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानले जानकारी दिए।

बागी उम्मेदवारी कायम रहे नेकपा राजमो बीचको बामगठबन्धन र नेपाली कांग्रेस बीचको प्रतिस्पर्धा कसिलो हुनेछ। घर्तीको प्रस्तावका नेकपाका रिमबहादुर विक र समर्थकमा दधिराम अर्याल छन्। पश्चिमको राजनीतिमा सक्रिय नेकपाका घर्तीले पार्टीले सदैव उपेक्षा गरेकाले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएको बताउँछन्।