काठमाडौं, १७ कात्तिक । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
बाग्मती सफाइ महाअभियानको २८६ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २३ संस्थाका ३५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । सफाइमा नायिका करिष्मा मानन्धर पनि सहभागी भएकी थिइन् । भाइटीकाको भोलिपल्ट कात्तिक २४ गते शनिबारसमेत सफाइ अभियानलाई निरन्तरता दिइने भएको छ ।
मुहानदेखिकै बाग्मती सफाइ अभियानमा जुटेको बाग्मती सुन्दरता सरोकार मञ्चले २४७ औं हप्ताको सफाइ कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित शिवचोक क्षेत्रमा गरेको छ । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।



लाेकपाटी न्यूज

