भारतको नयाँदिल्लीमा संकटकाल घोषणा

delhi pic
लाेकपाटी न्यूज

नयाँदिल्ली, १६ कात्तिक। भारतको नयाँदिल्लीमा प्रदुषण अत्याधिक भएपछि संकटकाल घोषणा गरिएको छ।प्रदूषणको मात्रा अत्याधिक भए पछि सरकारले प्रदूषणबाट सर्वसाधारणलाई जोगाउन लाखौंको संख्यामा मास्क वितरण गरेको छ। प्रदुषण अत्याधिक बढेसँगै दिल्ली सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ। बीबीसीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा ५० लाख मास्क वितरण गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायुमा मसिना धूलोका कण (पीएम) को मात्रा प्रति घनमिटर २.५ हुनु पर्ने तोके पनि नयाँ दिल्लीमा अहिले ५३३ माइक्रोग्राम भएको जनाइएको छ। त्यस्तै विश्व स्वास्थ्य संगठनले यस्ता कणको मात्रा २४ घण्टामा सरदर २५ पीएम माथि हुन नहुने तोकेको छ। सो हेर्दा नयाँ दिल्लीको प्रदूषणको मात्र अत्याधिक हो।

नयाँ दिल्लीको वायुप्रदूषणको मात्रा निकै गम्भीर अबस्थामा पुगेपछि भारतीय सर्वोच्च अदालतले नयाँ दिल्ली र दुई छिमेकी राज्यमा प्रदूषण बढाउने खालका धेरै गतिविधीमा प्रतिवन्ध लगाएको छ। हालै उच्च अदालतले सबै खाले निर्माण कार्यलाई एक हप्तासम्म रोक्न र आगोसम्बन्धी कुनै पनि गतिविधीमा रोक लगाएको छ। त्यसैगरी शहरी क्षेत्रका विद्यालयहरूलाई अर्को मंगलबारसम्म बन्द गरिएको छ। यस्तै भारतबाट प्रदूषित धूलोका कणहरू नेपाल आउन सक्ने भए पनि त्यसले जनस्वास्थ्यमा कतिको असर गर्छ भन्ने बारे अध्ययन नभएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताइन्।

त्यस्तै नासाले सार्वजनिक गरेको तस्बिरमा धूलोयुक्त बादल नयाँदिल्ली र आसपासको क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको विषयमा उनले अहिले दक्षिण पश्चिमबाट नेपालमा हावा चल्ने मौसम भएकाले धूलो युक्त बादलहरू आउन सक्ने संभावना रहे पनि त्यसले जनस्वास्थ्यमा कतिको असर पार्छ भन्ने बारे अध्ययन नभएको बताइन्। उनले भूउपग्रहको तस्बिरमा भारतको उत्तर प्रदेश माथिका आकाशमा धूलो युक्त बादल देखिएको र यस्तो बादल जाडो मौसममा विगतमा पनि देखिने गरेको जानकारी दिइन्।