यसरी जगाउँदैछ मेलम्चीले आशा

Melamchi
लाेकपाटी न्यूज

काठमाडौं। अघिल्लो दशैँसम्ममा सम्पन्न हुने भनी प्रचार गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी यसै वर्ष काठमाडौं ल्याउने गरी काम भइरहेको एक उच्च अधिकारीले बीबीसीलाई बताएका छन्।

नेपाल सरकारले केही साताअघि एक चिनियाँ निर्माण कम्पनीलाई मेलम्चीको बाँकी काम पूरा गर्ने जिम्मेवारी दिएपछि अबको एक वर्षभित्र मेलम्ची आयोजनाले पूर्णता पाउन लागेको मेलम्ची बोर्डका अधिकारीहरू बताउँछन्।

तर खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले ठेकेदारले लाभांश पाउने आशामा छिटो काम सक्ने आशा गरिए पनि ऊमाथि छिटोभन्दा छिटो काम सक्न दबाव दिन नमिल्ने बताए। गत महिना चिनियाँ ठेकेदारसँग १५ महिनामा काम सक्ने गरि सम्झौता भएको थियो।

सिन्धुपाल्चोकबाट बग्ने मेलम्ची नदीको पानी काठमाण्डू ल्याउने २७ किलोमिटर लामो सुरुङ छिचोल्ने काम गत वर्ष नै पूरा भइसकेपनि सुरुङको भित्री भाग सबल बनाउने काम बाँकी नै छ। त्योसँगै मेलम्ची नदीमा सानो बाँध बनाएर जम्मा हुने पानी सुरुङभित्र सोझ्याउने ‘हेडवक्स्र्स’को काम पनि सुरु हुन बाँकी नै छ।

ती काम पूरा गर्ने जिम्मेवारी नेपाल सरकारले गत सेप्टेम्बर २९ मा चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई दिएपछि मेलम्ची आयोजनाका अधुरा काम पूरा हुने वातावरण बनेको अधिकारीहरू बताउँछन्। सिनो हाइड्रोलाई मेलम्चीको पानी झार्न १५ महिनाको म्याद दिइएको छ। त्यसको अर्थ त्यो काम २०७७ साल पुसभित्र पूरा हुनु पर्दछ।

तर त्यो काम सक्दो छिटो गराउने प्रयास भइरहेको अधिकारीहरू बताउँछन्। आशङ्काहरू कायमै रहे पनि मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री भन्छन्,‘ ‘समयअगावै काम पूरा गरे ठेकेदार कम्पनीले लाभांश पाउने व्यवस्था गरिएकोले सिनोहाइड्रोले यही आर्थिक वर्षभित्र अर्थात २०७७ साल असार मसान्तभित्रै मेलम्चीका बाँकी काम पूरा गने सम्भावना प्रबल छ।’

उनले भने, ‘हामीले ठेकेदारलाई चाँडै काम सके लाभांश दिने भनेका छौँ। त्यसैले यो आयोजनाको काम आगामी असार मसान्तभित्रै सकिन सक्छ।’ बिबिसीमा समाचार छ।

सिनोहाइड्रोले यसअघि नेपालमै ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत परियोजनाको काम पूरा गरिसकेको छ। उसले अहिले मेलम्चीको सुरुङ सबल तुल्याउन र मुहानमा बाँध बनाउन १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी रकमको ठेक्का पाएको छ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले ठेकेदारले सुरुङभित्रको काम छिटो सकेमा पानी छिटो ल्याउन सकिने बीबीसीलाई बताए। ‘मुहानको पानी सोझ्याउने जत्तिकै महत्त्वपूर्ण काम हो सुरुङभित्र गर्नुपर्ने काम। सुरुङभित्रको काम जति छिटो सकिन्छ त्यत्तिनै छिटो पानी ल्याउन सकिन्छ।’

सुरुङलाई सबल गराउनेलगायतका कामसँगै मुहानमा सानो बाँध बनाउने र पानीलाई सुरुङभित्र मोड्ने अभिभारा अहिले सिनो हाइड्रोको काँधमा आएको छ। ती काम पूरा भएपछि मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याउने सरकारी योजना छ।

कार्यकारी निर्देशक खत्रीका अनुसार ‘मुहानमा बाँधको काम केही महिनाभित्रै पूरा हुन नसकेमा अस्थायी संरचना बनाएरै भएपनि मेलम्चीको पानी आउने दशैँअघिसम्ममा काठमाडौं ल्याउने योजना छ।’

मेलम्ची नेपालका राष्ट्रिय गौरवका आयोजनाहरू मध्येको एक हो। तर, ३५ करोड अमेरिकी डलर लागतको मेलम्ची विवादमुक्त रहन सकेको छैन। केही साताअघि आयोजनाका मजदुर तथा सहठेकेदारहरू भुक्तानी नपाएको भन्दै क्रुद्ध भएका थिए।

यसअघि मेलम्चीको बाँकी काम पूरा गर्ने जिम्मेवारी पाएको एक कम्पनीले अचानक परियोजनाका काम परित्याग गरिदिएपछि मेलम्ची सङ्कटग्रस्त हुन पुगेको थियो। अहिले एक सरकारी टोलीले त्यो सँग जोडिएका विवाद हल गर्ने प्रयास गरिरहेको बताइएको छ।

तथापि स्थानीय स्तरमा मेलम्चीको पानी र आयोजनाले सञ्चालन गरिरहेको सामाजिक उत्थान कार्यक्रमलाई लिएर विवादहरू कायमै रहेको मेलम्चीको मुहान रहेको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष कोपिला पण्डितले बीबीसीलाई बताइन्।

उनले भनिन्, ‘सुरुङका दुई खण्ड हेलम्बुमा पर्छन्। पहिले हाम्रा माग पूरा हुनु पर्दछ। अन्य स्थानीय तहले भन्दा हामीले बढी लाभ पाउनु पर्छ। होइन भने पानी लैजान गाह्रो हुन्छ।’ मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झरेपछि त्यसलाई वैज्ञानिक तरिकाले उपत्यकाभित्र वितरण गर्न भन्दै नितान्त नयाँ वितरण प्रणाली बनाइएको छ।

तर मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकाको बढ्दो जनसङ्ख्याको पानीको माग पूरा गर्न पर्याप्त नहुने विज्ञहरू बताउँछन्। त्यसैले मेलम्चीकै सुरुङबाट मेलम्चीदेखि उत्तरपूर्वमा अवस्थित याङ्ग्री र लार्के नदीको पानी ल्याउन गृहकार्य भइरहेको अधिकारीहरू बताउँछन्।

मेलम्ची आयोजना यथाशिघ्र सम्पन्न गर्न खानेपानी मन्त्री बिना मगरले विशेष जोड दिएकी छिन्। सिएमसी कम्पनि भागेपछि मन्त्री मगरकै पहलमा सिनो हाइड्रोसँग निर्माण सम्झौतामा हस्ताक्षर भई काम अघि बढेकाले मेलम्चीले नयाँ आशा जगाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्