भरतपुर ‘सडकमानव मुक्त’ महानगर घोषणा 

लाेकपाटी न्यूज

चितवन, ९ कात्तिक । चितवनको भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडकमानव मुक्त’ महानगर घोषणा गरिएको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले घोषणापत्र वाचन गरी नेपालकै पहिलो ‘सहयोगापेक्षी सडकमानव मुक्त महानगर’ घोषणा गरेका हुन्।

मानव सेवा आश्रमको सहयोगमा महानगर, स्थानीय प्रशासनलगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा शनिबार भरतपुरलाई ‘सहयोगापेक्षी सडकमानव मुक्त महानगर’ घोषणा गरेका हुन्।

कार्यक्रममा प्रतिबद्धता जाहेर गर्दै महानगर प्रमुख रेनु दाहालले घोषणासँगै यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताइन्। उनले यसलाई सार्थक बनाउन सबैको साथ र सहकार्यको आवश्यकता रहेको बताइन्।

उनले चितवनमा सडकमानवको समस्या पहिचानका लागि स्क्रिनिङ सेन्टर निर्माण गर्ने समेत बताइन्। उनले हाललाई सडकमा भेटिएका सहयोगापेक्षीलाई मानव सेवा आश्रममा राख्ने र मानव सेवा आश्रमको घरभाडा महानगरले तिरिदिने बताइन्। मानव सेवा आश्रमलाई महानगरले सवारी साधन दिने समेत उनले बताइन्।

घोषणापूर्व नारायणगढको क्याम्पाचौरबाट शोभायात्रा निकालिएको थियो । शोभायात्रा बजार परिक्रमा गरी महानगर परिसरमा आएर कार्यक्रममा परिणत भएको हो । कार्यक्रममा जिल्लास्थित सरोकारवालाहरुले प्रतिबद्धता मन्तव्य राखेका छन् । शोभायात्रामा सयौंको संख्यामा सहभागीहरु रहेका थिए ।

सरकारी कार्यालय, संघसंस्था अस्पताल सबैले आआफनो ब्यानरमा सहभागिता जनाएका थिए । सहयोगापेक्षी सडकमानव मुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरू गरिएको थियो ।

यस क्रममा अहिलेसम्म ३०० जनालाई उद्धार गरिएको महानगरले जनाएको छ । उद्धार गरिएकामध्ये वास्तविक संरक्षण दिने खालका जम्मा १० जना भेटिएको र अन्य घर ठेगाना नखुलेका काम गर्न सक्ने रहेको अभियान सञ्चालन गर्दै आएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

महानगर प्रमूख रेनु दाहालले मानवताका हिसाबले कुनै पनि नागरिक भीख मागेर बस्नु कलङ्कको विषय भएको भन्दै भरतपुरमा कोही पनि नागरिक गाँस, बास र कपासका लागि भौतारिने अवस्थाको सदाका लागि अन्त्य गर्ने अभियानअन्तर्गत यस्तो कार्यक्रम गरिएको बताइन्।

महानगर प्रमूख दाहालले कार्यक्रमका सहभागीहरुलाई सहयोगापेक्षी सडकमानव मुक्त महानगर निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धतासहितको शपथ ग्रहण गराएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्