घोराही, ६ कात्तिक। दाङका कुखुरापालक किसान आन्दोलित भएका छन्। दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन्।
कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी यही कात्तिक १२ गतेदेखि अनिश्चितकालका लागि कुनै पनि किसानले ब्रोइलरको चल्ला माग नगर्ने र कुखुरा नपाल्ने बताएका छन्। कुखुरापालक किसानको सङ्गठन किसान सरोकार मञ्चका अध्यक्ष विष्णुप्रसाद न्यौपानका अनुसार चल्ला र दानाको मूल्य सप्लायर्सहरुले भाविकरूपमा बढाए पनि किसानले उत्पादन गरेको कुखुरामा भने अत्यधिक गिरावट आएको बताए।
उनले आफूहरुको माग सम्बोधनका लागि दाना र कुखुराको चल्लाको मूल्य घटाउनुपर्ने वा उत्पादन भएका तयारी कुखुराको मूल्य बढाउनुपर्ने मुख्य माग रहेको बताए।किसानका समस्या सम्बोधन नभए कात्तिक १२ गतेबाट कुनै पनि कुखुरापालक किसानले चल्ला खरीद नगर्ने घोषणा किसानले गरेका छन्। यसलाई आफूहरुले कडाइका साथ पालना गर्ने उनीहरुको भनाइ छ।
पटक–पटक दाना र चल्लाको मूल्यमा वृद्धि हुँदा पनि कुखुराको मूल्यमा गिरावट आएको, सप्लायर्सहरुले समयमा कुखुरा नउठाउने, किसानले तत्काल कुखुराको मूल्य नपाउने, सप्लार्यसहरुले मनपरी मूल्य निर्धारण गर्ने काम गरेको अध्यक्ष न्यौपानेले बताए। यस्तै कुखुरापालक किसानले विभिन्न सात बुँदे माग राखेका छन्।
उनीहरुले तयारी कुखुराको मूल्य बढ्नुपर्ने, समयमा तयारी कुखुरा बजारसम्म सप्लायर्सले पुर्याइदिनुपर्ने, कुखुराको रकम तत्काल पाउनुपर्ने, कुखुरा, दाना र चल्लाको मूल्य दैनिक प्रकाशित हुनुपर्ने, बच्चा र दाना गुणस्तरीय हुनुपर्नेलगायतका मागसमेत राखेर आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।
अहिले बजारमा प्रति ५० केजी दानाको मूल्य रु तीन हजार ४५० र प्रतिगोटा चल्लाको मूल्य रु ९० मा किसानले किन्दै आएका छन्। चालीसदेखि ५५ दिनसम्म किसानले पालेका कुखुराको मूल्य भने प्रतिकिलो सरदर रु १८० मात्रै छ। अहिले तयारी कुखुराको मूल्य घोराहीमा रु १९०, तुलसीपुरमा १८० र देउखुरी क्षेत्रमा १७० मा किनबेच हुँदै आएको बताइएको छ।
त्यसमा पनि किसानसँग प्रतिकिलो रु १८० मा किनिएको कुखुरा उपभोक्तासम्म आइपुग्दा रु ३०० देखि ३२० सम्म प्रतिकिलो तयारी मासु बिक्री हुने गरेको छ। दाना र चल्लाको मूल्य बढेपछि तयारी कुखुराको मूल्य पनि बढ्नुपर्ने किसानको मुख्य माग छ। दाना तथा कुखुरा सप्लायर्स दाङका उपाध्यक्ष महेन्द्र बुढाथोकीले तत्कालका लागि तयारी कुखुराको मूल्य बढाउन नसकिने बताए। जिल्लामा कुखुराको उत्पादन अत्यधिक हुँदा बजारले धान्न नसकेको र सोही कारण मूल्य बढाउन नसकिएको उनको तर्क छ।
यस्तै दाङको तुलनामा अन्य जिल्लाका तयारी कुखुराको मूल्य थोरै भए पनि घोराहीमा आफूहरुले घाटा व्यहोरेर भए पनि किसानलाई धेरै मूल्य दिइरहेको उनले जिकिर गरे। जिल्लामा चल्ला र दाना थोरै मात्रामा उत्पादन भए पनि अरु सबै बाहिर जिल्लाबाट आउने हुँदा दाना र चल्लाको मूल्य आफूहरुले तोकेर निर्धारण नहुने उनले बताए।
कुखुराको दानामा प्रयोग हुने करीब १५र१६ प्रकारका अन्नजन्य पदार्थ सबै भारतको भर पर्नुपर्ने हुँदा पनि दानाको मूल्य चर्को हुँदै गएको दाना सप्लायर्सहरुको भनाइ छ। अहिले काठमाडौँ, पोखरा र दाङबाहेक सबै जिल्लामा तयारी कुखुराको मूल्यमा भारी गिरावट आएको र आफूहरुले तयारी कुखुराको मूल्य बढी भनेमा फ्रेस हाउसहरुले जिल्ला बाहिरबाट कुखुरा मगाउने हुँदा पनि समस्या भएको कुखुरा तथा दाना व्यवसायी बताउँछन्।
दाना, चल्ला र तयारी कुखुराको मूल्य निर्धारणको काममा सरकारले जिम्मेवारी लिइदिए आफूहरुलाई सहज हुने वसायी बताउँछन्। अहिले दाङभरि करीब दुई हजार किसानले कुखुरा पालिरहेका छन्। दाङमा प्रति हप्ता एक लाख २५ हजार चल्ला जिल्ला भित्रिने गरेका बताइएको छ।



रासस न्यूज
