काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकको मानव अधिकारको अवस्था खराब बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जनअधिकार अभियान नेपालको चौथो साधारणसभा तथा मुखपत्र आवाजको बिमोचन गर्दै अध्यक्ष शर्माले अहिले पनि पञ्चायतकालिन शैली जस्तो अवस्था देखिएको टिप्पणी गरे ।
उनले भने, ‘हामीले व्यवस्था परिवर्तन त गर्यौ तर त्यस अनुसार आचरण भयो कि भएन भन्ने मुख्य विषय हो ।तर, म आचरण पुरानै देख्छु।’ उनले गणतान्त्रिक ब्यवस्थामा पनि मानव अधिकार सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरे । उनले यो गणतन्त्र हो कि बन्दुकतन्त्र छुट्याउन गाह्रो भएको समेत टिप्पणी गरे । उनले भने, ‘म असन (काठमाडाैं) मा हुर्क्या बढ्या मान्छे अनि एउटा जोक चल्छ गणतन्त्र कि गनतन्त्र ? गनतन्त्र भनेको बन्दुकले सबैलाई सिध्याउने भनेको हो कि ? गणतन्त्र अर्थात् महादेवको उत्ताउला गणहरूको तन्त्र हो कि ? गन भनेको नेवारीमा कता भन्ने हुन्छ अर्थात् कता गयोतन्त्र हो कि ?’ उनले विचार र आस्थाकै आधारमा कसैलाई पनि गिरफ्तार गर्न नहुनेमा पनि जोड दिए ।
त्यस्तै, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बृहत् शान्ति सम्झौता सही ढंगले निस्कर्षमा नपुग्दा अहिले राजनीतिक तरलता देखिएको टिप्पणी गरिन् । उनले भनिन्, ‘सायद शान्ति प्रकृया सही ढंगले निष्कर्षमा पुगेको भए फेरि अहिलेको व्यवस्थामा प्रश्न उठ्ने थिएन कि, विप्लव जी, किरण जीहरू अहिले किन बाहिर हुनुहुन्छ ?’
संसद कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले मानवअधिकारको अवस्था गम्भिर बन्दै गएको टिप्पणी गरे । यस्तै जनअधिकार अभियान नेपालका अध्यक्ष बरिष्ठ अधिवक्ता एकराज भण्डारीले विप्लवले भनेको वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबीच किन बहस गर्न नपाउने भन्दै प्रश्न गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्न माग गरे । नेता आहुतिले विचार र आस्थामाथिको प्रतिबन्धले समस्या समाधान नहुनेमा जोड दिए । उनले विचार र आस्थाकै आधारमा देशभर धरपकड गरिएको भन्दै संविधानमा लेखिएको मौलिक हक सुनिश्चित गर्न आग्रह गरे ।
कार्यक्रममा नागरिक आन्दोलनका अगुवा डाक्टर सुन्दरमणि दिक्षितले सरकारको कार्यशैली गम्भिर भएको दाबी गरेका छन् । उनले यत्रो लडेर ल्याएको गणतन्त्रमा ल्याउनेहरु नै पीडित बन्नु परेको टिप्पणी गरे । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरू समेत लडेर ल्याएको गणतन्त्रमै प्रेस स्वतन्त्रता कुण्ठित भएको भन्दै आश्चर्य व्यक्त गरे । उनले विचार र आस्थाकै आधारमा पत्रकार गिरफ्तार गर्नु आपत्तिजनक भएको बताए ।
जनपत्रकार संगठन,नेपालका अध्यक्ष प्रकाश डुम्रेले देशभर विचार र आस्थाका आधारमा आफ्ना संगठनका साथीहरू गिरफ्तार गरिएको भन्दै आपत्ति जनाए । सामाचार लेखेकै आधारमा पक्राउ गर्ने र सर्वोच्च अदालतको आदेशमा रिहा हुँदा पनि पटक–पटक पक्राउ गर्ने गरिएको भन्दै सबैको ध्यानाकर्षण गराए ।
कार्यक्रममा प्रगतिशील कानूनी व्यवसायी संगठनका सचिव कपिलचन्द्र पोख्रेल, तक्मा केसी, अधिकारकर्मी डा. कपिल श्रेष्ठ, सरला रेग्मी, भवानी खरेल, शान्ता भण्डारी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम अध्यक्ष एकराज भण्डारीको अध्यक्षता, उपाध्यक्ष देवबहादुर पौडेलको स्वागत र सचिव राम भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियोे ।



लाेकपाटी न्यूज
