‘देउवाजी, कांग्रेस र देशकै लागि घातक छन्’ : सुजाता कोइराला

Sujata-Koirala-2-1
लाेकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री अफताव आलम सामूहिक नरसंहारको अभियोगमा पक्राउ गरेपछि कांग्रेसभित्र आलमको पक्ष र विपक्षमा बहस भइरहेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई १२ वर्षअघि भएको घटनालाई लिएर आलमलाई पक्राउ गर्नु कांग्रेसविरुद्ध गम्भिर षड्यन्त्र भएको बताएका छन्। तर, कांग्रेसकै प्रभावशाली नेताहरुले २२ जना नागरिकको सामूहिक नरसंहारको अभियोग लागेका आलमलाई उन्मुक्ति दिन नहुने बताउँदै आएका छन्।

कांग्रेस नेता गगन थापा, प्रवक्ता विश्वप्रकाश शर्माले आलमको अभियोगमाथि निष्पक्ष छानविनमा सघाउने बताएका छन्। तर, सभापति देउवाले आलमलाई फसाउन खोजिएको र यो लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन्।

कांग्रेस नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले भने देउवाका कारण देश र कांग्रेस नै संकटमा पर्ने टिप्पणी गरेकी छिन्। आलमको गिरफ्तारीसँगै कोइरालाले देउवाको अभियव्यक्तिलाई लक्षित गर्दै उक्त टिप्पणी गरेकी छिन्। उनले देउवाको विकल्प नखोजिए कांग्रेसले दुर्भाग्य भोग्नुपर्ने चेतावनीसमेत दिएकी छिन्।

सुजाताले भनेकी छिन्, ‘नेपाली कांग्रेसमा नेतृत्वको अभाव छ, जुन गतिले नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने थियो, पहिले पहिले जुन गतिमा अगाडि बढेको थियो, त्यसमा निकै कमी आएको छ। कांग्रेसमा नेतृत्व परिवर्तन जरुरी छ, त्यसो भएमा कांग्रेस बलियो भएर आउँछ।’

सुजाता भन्छिन्, ‘सभापति शेरबहादुर देउवाको विकल्पमा नयाँ व्यक्ति जो आए पनि अहिले देउवाजीले चलाएको भन्दा राम्रो तरिकाबाट पार्टी चल्छ र पहिलाको तुलनामा कामहरु पनि हुदैँ जान्छन्, यसमा म विश्वस्त छु। अबको विश्व परिस्थिति पनि बुझेको नेपाली कांग्रेसको विचार बोक्न सक्ने व्यक्ति नेपाली कांग्रेसका लागि आवश्यक छ।’

‘यो अवस्थामा आउनु भनेको पार्टीका लागि देशका लागि दुर्भाग्यको कुरा हो। जसले प्रजातन्त्रमा विश्वास गर्ने मानिसको विश्वासमा नै आघात पुग्न सक्छ’ सुजाता भन्छिन्, ‘संगठन एकदमै कमजोर छ। संगठनको कुशलता पनि देखिएको छैन। कांग्रेसमा युवा पुस्ता आउनुपर्छ। युवा आउँदा थप नयाँपन आउँछ। खाली पदको लोभ गरेर हुँदैन। कांग्रेस सकियो भने देशका लागि पनि राम्रो हुँदैन। देउवाजी हुँदा कांग्रेस र देशकै दुर्भाग्य हुन्छ।’