सवारी पार्किङकाे समस्या हट्दै, आधुनिक बसपार्क निर्माण हुने

लाेकपाटी न्यूज

सुर्खेत, १ कात्तिक। सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित छिञ्चु बजारमा आधुनिक बसपार्क निर्माण हुने भएको छ। पछिल्लोपटक बसेको मन्त्रिपरिषद्को बैठकले नगरपालिका–१२ मा पर्ने २.१५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि बसपार्क निर्माणको बाटो खुलेको हो।

छिन्चुमा बसपार्क नहुँदा सडक छेउछाउमै सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता रहँदै आएको छ। सङ्घीय सरकारले वन क्षेत्र प्रयोग गर्न अनुमति दिएसँगै नगरपालिकाले निर्माण प्रक्रिया अघि बढाउने भएको छ।

उपप्रमुख रेणु आचार्यले रुख कटानका साथै विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माणको काम शुरु गर्ने जानकारी दिए। भेरी र कर्णाली करिडोरलाई यातायात सञ्जालसँग जोड्ने छिञ्चु सुर्खेतको दोस्रो ठूलो बजार हो।

कोहलपुर, नेपालगञ्जबाट कर्णालीका विभिन्न जिल्ला पुग्नलाई छिञ्चुकै बाटो प्रयोग गरिन्छ। वन क्षेत्र प्रयोग गरेबापत नगरपालिकाले सोही क्षेत्र बराबरको जग्गामा वृक्षरोपण गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्