काठमाडौं, ३० असोज। नेपाल प्रहरीले दाङबाट नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका नेता मध्यपश्चिम ब्युरो कमाण्डर चन्द्रबहादुर चन्दसहित २१ जना केन्द्रीय तहका नेतालाई पक्राउ गरेको छ।
प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेको जनाईएको छ। ५ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो।
त्यहाँबाट महत्वपूर्ण दस्तावेजसहित २१ जना नेतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रदेश प्रहरीका प्रवक्ता डीएसपी नवराज पोखरेलले पक्राउ पर्नेको विवरण आइनसकेको जानकारी दिए।
यद्यपि, जिल्ला प्रहरी कार्यालय, दाङका एक अधिकृतले पक्राउ परेका मध्ये चन्द्रबहादुर चन्द विप्लवका दाइ रहेको जनाएका छन्। यसैगरी राप्ति व्युरो प्रमुख चेतबहादुर वाठा पनि पक्राउ परेको उच्च स्रोतले जनाएको छ।
उनीहरुलाई राजपुर गाउँपालिका–४ मुङ्रेटाखोलाबाट पक्राउ गरेको जनाइएको छ। अहिले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइँदैछ ।


लाेकपाटी न्यूज

