काठमाडौं, २९ असोज । रुकुममा जनप्रतिनिधिले अपमान गर्दै कुटेको र न्यायका लागि उजूरी गरेपछि मार्ने धम्की आएपछि एक जना दलित विस्थापित भएका छन्।
उनी न्याय माग्न राजधानी आएका छन्। रुकुमको चौरजहारी नगरपालिका ३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गर्दा पनि न्याय नपाएको र उल्टै मार्ने धम्की आएको भन्दै राजधानी आएको बताएका छन्।
पीडित गोविन्द विकले आज रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेनल गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनले भने, ‘मलाई ‘डुम ड्यांग्रा’ भन्दै कुटपिट गरेर उल्टै ज्यान मार्ने धम्की आएपछि न्यायका लागि राजधानी आएको हुँ।
सामुदायिक वन दर्ता गर्ने विषयमा छलफल गर्न वडा कार्यालयमै बोलाएर वडाध्यक्षले कुटपिट गरेको बताए। उनले भने, ‘सामुदायिक वन जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा छलफल चल्दै थियो । मैले हामी पनि समितिमै बस्छौं भनेपछि ‘डुम ड्यांग्रा’ भन्दै कुटपिट गरे’ ।
आफू माथिको अन्याय अरुलाई नपरोस् भनेर दोषी माथि कारबाही हुनु पर्ने बताए। उनले भने, ‘स्थानीय नेताहरुका सामु वडा कार्यालयभित्रबाट कुट्दै कुट्दै बाहिर ल्याएर जातीय गालीगलौज गरेपछि उजुरी गरेको हुँ।’
प्रहरीमा उजुरी गरेपछि गाउँमै मिलापत्र गर्न दबाब बढेको र स्थानीय राजनीतिक दलका नेता र दलित अगुवाले समेत गाउँमै मिलापत्र गर्न दबाब दिएको विकले गुनासो पोखे।
सामुदायिक वनलाई जिल्ला वनकार्यालयमा दर्ता गर्ने विषयमा विवाद रहेकाले वनदर्ताका लागि समिति बनाउनु पर्नेमा केही स्थानीयलाई जिल्ला वन कार्यालयले बोलाएर परामर्श गरेको खुलाए। उनले भने, ‘यसमा म पनि सहभागी थिएँ।’
कुटपिट गरेपछि वडाध्यक्ष बुढाथोकीले फोन गरेर धम्की दिइरहेको विकको भनाइ छ। प्रहरीमा उजुरी दिएपछि फेरि कुट्ने, मार्नेसम्मको धम्की आइरहेको उनले बताए।
गाउँका स्थानीय नेताले प्रहरीको साटो गाउँमै मिलापत्र गरी विवादलाई ढिसमिस गर्न दबाब दिएको बताए। तर अरुका अगाडि आफूमाथि जातीय विभेदका साथै कुटपिट भएकाले न्यायका लागि लड्ने विकले दृढता व्यक्त गरे।
उक्त कार्यक्रममा मुक्ति समाजका महासचिव कृष्ण बहादुर विश्वकर्माले जातीय भेदभाव गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँ जरिवानावा दुबै सजाय हुने कानूनी व्यवस्था छ भन्दै उनले कुटपिट र जातीय विभेद गर्ने वडाध्यक्षलाई कारबाहीको माग गरेका छन्।



लाेकपाटी न्यूज
