काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको राजनीतिक अन्तरविरोध छताछुल्ल भएको छ। संघको मंगलबारदेखि काठमाडौंमा जारी नवौं महाधिवेशनमा अधिकांश उम्मेदवारहरू राजनीतिक पृष्ठभूमिबाट आएको भन्दै यसका केही अभियन्ताहरूले असन्तुष्टि पोखेका छन्।
यसको अग्रपंक्तिमा संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो नै देखिएका छन् । उनले राजनीतिक खिचातानी बढेको भन्दै मंगलबार सम्मेलन नै बहिष्कार गरे ।
उनले संघमा पछिल्लो समय राजनीति मौलाउँदै गएकाले आफू यसविरूद्ध उत्रेको प्रतिक्रिया दिए । ‘अनावश्यक राजनीतिक हस्तक्षेप बढेकाले उपस्थित नभएको हुँ, पहिलेभन्दा यसपटक राजनीति बढी नै भएजस्तो लाग्यो’, उनले भने।
संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गराउन स्थापित संस्थामा राजनीति बढ्दै गएकोमा रोष प्रकट गर्दै संस्थापक अध्यक्ष महतोले प्रतिप्रश्न गरे– ‘विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप, क्षमता तथा पूँजीलाई मातृभूमिको विकासमा लगाउनुपर्ने संस्था नै राजनीतिक समूहजस्तो बनेपछि देशको विकास कसरी हुन्छ ?’ यो समाचार आजको नेपाल समाचारपत्रमा परिवर्तन देवकोटाले लेखेका छन् ।



लाेकपाटी न्यूज

