- रामचन्द्र शर्मा
एक समय विदेश जानु, त्यहाँ स्वरोजगार हुनु र आफै व्यवसाय गर्नु नेपाली समाजमा भिन्न ठूलो बहादुरी र इज्जतपूर्ण कर्म थियो। यसलाई समाजले समेत भव्य सम्मान दिन्थ्यो। नेपालबाट अध्ययन, भ्रमण र विविध कामले विदेश गएर उतै पलायन हुने होडबाजी नै चल्दै आएको छ।
प्रवासी यात्रा मूलतः दुई कोणवाट र्सिजना गरिएको छ। एक, इज्जयतको होडबाजीमा र दोस्रो, प्राण र जीवन धान्ने सङ्घर्षको बाटोमा। दुई पक्षहरुको गम्भिर विश्लेषण गर्न सक्नु नै एनआरएनएको औचित्य हुन्छ। सन् २००३ सालमा एनआरएनएको स्थापना हुँदा ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने भावनासँग जोडिएर विदेशमा रहने नेपालीसँग समन्वय गर्न, फेलोसिप हुँदै नयाँ बाटो कोर्न र कुनै न कुनै उद्देश्यबाट नेपालसँग नजिक हुने यसको अभिप्राय लुकेको देखिन्छ।
एनआरएनए किन ?
संस्थाको स्थापनापूर्व धेरै देशका गैरआवासीय संगठनहरु बनेका थिए। एनआरएनए बनाउनुमा नेपालीहरुमा यसको प्रष्ट प्रभाव परेको बुझ्न सकिन्छ। नेपालीसँग नजिक हुन र विदेशमा सिकेको सीप, ज्ञान र अभियान नेपाली माटोमा प्रयोगमा ल्याउने वातावरण बनाउन यो अनिवार्य थियो। केही हदसम्म अभियान्ताहरुमार्फत् त्यो प्रयोगमा ल्याइएको पनि छ। यति कामले मात्र विशाल एनआरएनएको औचित्य पुष्टि हुन भने सक्दैन।
यसका लागि सैद्धान्तिक नीति योजना प्रष्ट हुनु आवश्यक देखिन्छ। मुख्य कुरा अन्तर्राष्ट्रिय अनुभवको विश्लेषण गर्न अति जरुरी हुन्छ। एनआरएनएको विकास र सम्वर्धनकोलागि यो कोशेढुङ्गा सावित हुन सक्छ। यसैको मार्गनिर्देशनमा संसारभरका नेपालीहरुलाई नेपाली आमाको काखमा राख्ने उद्देश्य एनआरएनएको हुन सक्छ। समग्र देशको सम्वर्धन र प्रवर्धनको लागि मात्र एनआरएनएको भूमिका हुनुपर्दछ।
प्रगतिको समीक्षा
स्थापनाकालदेखि यहाँसम्म आइपुग्दा ८ वटा विश्व सम्मेलनहरु नेपालमा भए। तर, ती सम्मेलनहरुमा नेपालमा लगानी बढाउने स्पष्ट धारणा र दस्तावेजमाथि छलफल गरेको पाइँदैन। व्यक्तिगत एवं आंशिक रुपमा लगानी भएको छ। तर, यसले समग्र संगठनको उद्देश्यलाई ब्राण्डिङ्ग गर्न सकेको छैन। अबको एजेण्डा नेपालमा लगानीको हिसाबले ६० लाख नेपालीलाई कसरी जोड्न सकिन्छ भन्ने कोणमा केन्द्रित हुनुपर्दछ।
नेपालमा रहेका अन्य सामाजिक संस्थाजस्तै यसले पनि सामाजिक काम गरेर आफ्नो ओझलाई दिन प्रतिदिन धुमिल पार्दै लगेको देखिन्छ। यो संस्था विशुद्द रुपमा आर्थिक गतिविधि एवं सामाजिक उद्यमसँग जोडिनुपर्दछ। कसैलाई चन्दा, अनुदान र राहत दिएर देश कदापि धनी हुँदैन। यसका लागि उद्यमहरु सिर्जना गर्न मार्गचित्र बनाउन सक्ने र कार्यन्वयनमा लैजान सक्ने हो भने अहिलेको सामाजिक कामभन्दा १०० गुना बढी आर्थिक बदलाव ल्याउन सकिन्छ।
एनआरएनए माछा मारेर दिने होइन, माछा मार्न सिकाउने रणनीतिमा लाग्नुपर्दछ। अहिले संस्थालाई राजनीतिक पार्टीकरणको कोणबाट अगाडि ल्याउन खोजिएजस्तो देखिन्छ। यसको असर संस्थाको गम्भिर भड्कावको रुपमा भविष्यमा देखिनेछ। नेपाल सरकार, राजनीतिक पार्टीहरु र यसका नेताहरुसँग सहज पहुँचका लागि यसका नेतृत्वकर्ता र अभियान्ताहरुले आफूलाई प्रस्तुत गरेका छन्। यस्ता गतिविधिले हिरोइज्मबाहेक नेपाली समाजलाई खास योगदान दिन सक्दैन। खास–खास नेता र कार्यकर्ताहरु विदेशमा घुम्न पाउलान्। तर, संस्थाको गरीमालाई दिनप्रतिदिन स्खलित गरिरहनेछ।
नेपालको संविधानले गैरआवासीय नेपालीलाई राजनीतिकबाहेक सबै अधिकार दिएको छ। तर, जुन अधिकार उनीहरुसँग छैन, त्यही अधिकारको लागि जस्तोगरी विभिन्न राजनीतिक पार्टीका ब्यानरमा अघोषित रुपमा संस्थाको विभिन्न तहका निर्वाचनमा सहभागी भएको अवस्था विद्यमान छ। एनआरएनए सफल हुन नसक्ने गम्भिर कडी यहीँनेर हो। दुईटा ढुङ्गामा खुट्टा हालेर सागर तर्न खोज्नु सायद मूर्खता हो। नेपालमा हिजो गरेकोजस्तो व्यवहार आज तपाईहरु बाहिर बसेर पुनरावृत्ति गरे त्यो एनआरएनए भन्न पनि लाजमर्दो हुनेछ।
यसले तपाईहरुको सभ्यतामा प्रश्न उठाउने ठाउँ दिन्छ। संस्थाको ब्यानरमा जुन खालको तडकभडक छ, यो नेपाली संस्कृतिको मूल्य मान्यता विपरित छ। यसले नेपाली समाजलाई नकारात्मक सन्देश सिवाय केही पनि दिनेवाला देखिन्न। संस्थाको निर्वाचन हुँदा, उम्मेदवार आवेदन फर्म लिँदा नै दश लाखसम्म चाहिने जुन अवस्था छ, त्यसले यो कतै पैसाको प्रर्दशन गर्ने धनाढ्य क्लब त होइन ? भन्ने प्रश्न गम्भिर रुपमा उठेको छ। एकातर्फ मध्यपूर्वमा बस्ने नेपालीलाई समेत एनआरएनए भनिएको छ। अर्कातर्फ दश लाखको डण्डाले उनीहरुलाई दबाउने काम समेत गरिएको छ।
राजतन्त्रजस्तो आफ्नो छोरा नै राजा भएजस्तै दश लाख पैसा हुने मात्र उम्मेदवार हुने हो भने मध्यपूर्व सहित खाडी राष्ट्रमा बस्ने नेपालीहरु दोस्रो दर्जाको ताली बजाउन राखेका दर्शक मात्र हुन्छन्। यस विषयमा गम्भिर समीक्षा हुन जरुरी देखिन्छ। सँगसँगै यस्ता प्रवृत्तिको तुरुन्त अन्त्य गर्नु अपरिहार्य छ। प्रत्येक अधिवेशनमा औसतमा प्रत्यक्ष वा परोक्ष रुपमा दुई अर्बमाथिको खर्च हुने गर्दछ। त्यस्ता खर्चहरु ६० प्रतिशतसम्म कटौती गर्नसक्ने प्रशस्त ठाउँहरु छन्। त्यो रकम नेपालको उद्योग व्यवसायमा लगाउँदा ठूलो रोजगारी सिर्जना हुने र देशका लागि उल्लेखनीय योगदान हुन सक्छ।
आजको समाजसेवा सामाजिक उद्यम हो। यसले मात्र नेपालीको मन खुशी पार्न सकिन्छ भन्ने कुरा गम्भिर समीक्षाका रुपमा लिएर अगाडि बढ्नु स्वयम् अभियान र गैरआवासीय नेपालीका लागि हितकर हुनसक्छ। साठी लाखभन्दा बढी नेपालीलाई छाता ओडाएका छौं भन्ने दावी एकातर्फ छ। तर, संस्थाको साधारण सभा तथा महाधिवेशनमा भाग लिने डेलिगेट्सहरु अपारदर्शी ढंगबाट पर्यटक डेलिगेट्सका रुपमा नेपाल ल्याइएको सर्वत्र गुनासो छ। संस्थाको गरीमामा यसले अवरोध मात्र गर्दछ।
एउटा विधि र प्रक्रियाबाट डेलिगेट्स छनोट गर्ने वातावरण बनाउनतिर लाग्ने, संस्थालाई अझ ब्यापक बनाउन बलियो सिस्टम बनाउने र तीन प्रकारबाट मताधिकारको व्यवस्था गर्ने हो भने यसमा सबै प्रवासीहरुले आ–आफ्नो भूमिका देख्न सक्दछन्। प्रवासीहरुको मुख्य चासो यसैमा केन्द्रित छ। मानौं एक प्रत्यक्ष मतादानको व्यवस्था, दुई विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुले एसएमएस वा अन्य डिजिटल प्रविधिमार्फत् मतदान गर्ने व्यवस्था। यसो गर्दा मतभारलाई अलग–अलग ढंगबाट गणना गर्ने व्यवस्था गर्न सकिन्छ। जस्तो, इलेक्ट्रोलर कलेजको व्यवस्था गर्ने, यसमा प्रत्यक्ष डेलिगेट्सहरुको एक मत बराबर एक इलेक्ट्रोलर कलेजको गणना गर्न सकिन्छ भने एसएमएस र अन्य प्रविधिबाट गरिएको मतदानलाई दश हजार मत बराबर एक इलेक्ट्रोलर कलेजको मान्यता दिई मतभारको गणना गर्ने गरी निर्वाचन गराउन सकिन्छ। यसो गर्दा संस्थाको व्यापकता, अपनत्व, वैज्ञानिकता र विश्वास अझ फराकिलो भएर जानेछ।
समग्र देशले तपाईहरुलाई महत्वका साथ नियालिरहेको छ। समग्र नेपालीको अभियान सफल बनाउन यसले भरपुर मद्दत गर्दछ। अहिलेको पुस्ता विदेसिएर त्यहाँ बस्दा नेपालको माया नेपालमा बस्ने नेपालीलाई भन्दा बढी नै हुन्छ। यो स्वभाविक हो। तर, चिन्ता तिनका सन्तानमा नेपाली मन हुन्छ कि हुँदैन भन्ने हो। अन्तर्राष्ट्रिय रुपमा जन्मको आधारमा नागरिक बन्न दिने प्रचलन गम्भिर खोज अनुसन्धानबाट सुरु गरिएको हो। यसकारण पनि गम्भिर प्रश्न अगाडि आएको छ। तसर्थ, अब एनआरएनएको कार्यभार सन्ततिका लागि नेपाल अभियान हुनुपर्दछ। यसका लागि अहिलेदेखि नै योजनावद्ध कार्य गरिनुपर्दछ।
यो विश्व सम्मेलन निर्वाचनमा केन्द्रित हुँदा उल्लेखित एजेण्डाहरु ओझलमा पार्नु हुँदैन। मुख्य कुरा नीति हो। त्यसलाई कार्यान्वयन गर्ने महत्वपूर्ण निकाय मात्र समिति हो। सम्मेलनले नीतिगत विषयमा महान बहस गरोस्, हाम्रो शुभकामना ! राजनीतिक पार्टीहरुले पनि अनावश्यक हस्तक्षेप नगरी संस्थालाई स्वतन्त्र रुपमा उसका एजेण्डा र नीतिमा अगाडि बढ्न प्रेरित गर्नुपर्छ, मार्गप्रशस्त्र गर्नुपर्छ।
अन्त्यमा,
आज नेपाल ठूलो प्रशव पीडाबाट मुक्त हुँदै अगाडि बढ्न खोजिरहेको छ। नेपाली आमा एकपटक संसारमा देखिने गरी सिंगारिन चाहन्छिन्। रगतले लेखिएका वीरताका गाथा, स्वाभिमानले भरिएका ठूलठूला इतिहास, धर्म, संस्कृति, वैभव, पर्यावरण र पर्यटनका अद्वितीय गन्तव्यहरु संसारमाझ पढाउन र चिनाउन चाहन्छिन्। तपाईहरु विदेशमा हुनुहुन्छ। तपाईहरुकै हात समाएर आज संसार यात्रामा नेपाली आमा दौडिन चाहन्छिन्। सम्मेलनले त्यो चाहना पूरा गर्ने संकल्प गर्ने हो भने विशुद्द क्रषि मनले नेपालमा लगानी बढाउने एजेण्डा तय गरौं। र त्यही बाटो हिड्ने प्रण गरौं।
सम्मेलनलाई पर्यटकीय, चाडपर्व मनाउने जमघट, राजनीतिक लाभ लिने औजारको रुपमा प्रयोग गर्ने दृष्टिकोण पूर्णतः खारेज गर्नुपर्छ। लेखक राष्ट्रिय उत्पादन अगाडि बढाउन तपाईहरुसँग मिलेर काम गर्न चाहन्छ। हामी जहाँ जहाँ छौं, नेपालको प्रचार गरौं। नेपालको पर्यटन दुतका रुपमा प्रत्येक नेपालीले योगदान गर्न सकौं।
त्यो वातावरण एनआरएनएले बनाउन सकोस्। एनआरएनएले जोशिलो, दुरदर्शी र नेपाली माटोलाई आफ्नो पसिनाले मुछ्न आँट गर्ने नेताहरुलाई निर्वाचित गरोस्। विश्व सम्मेलन सफलताका लागि अगणित शुभकामना !
(लेखक शर्मा प्रवासी नेपाली सम्वन्धि जानकार, पर्यटन व्यवसायी एवं राष्ट्रिय उत्पादन अभियानका अभियान्ता पनि हुन्।)



लाेकपाटी न्यूज

