काठमाडौं, २७ असोज। रामेछापका अधिकांश भूकम्प पीडितले नयाँ घर निर्माण गरे पनि जोखिमयुक्त पुरानै घरमा बस्दै आएका छन्। कतिपयले त नयाँ बनेका भूकम्प प्रतिरोधी घरहरुलाई घाँसपात राख्न र बाख्रा, कुखुरा थुन्न प्रयोग गरेका छन्। रामेछापमा २०७२ सालमा आएको विनासकारी भूकम्पले करिब ४८ हजार घरमा क्षति भएको थियो।
तीमध्ये ४३ हजारले घर निर्माणको लागि सरकारसँग सम्झौता गरी पहिलो किस्ता रकम लिएका थिए। हालसम्म जिल्लामा ३६ हजारभन्दा बढी नयाँ घरहरु बनिसकेका छन्। पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्वयन इकाइ रामेछापका नायव सुब्बा दामोदर घिमिरेका अनुसार नयाँ बनेका भूकम्प प्रतिरोधी घरहरु एकतले, दुईतले देखि ३ कोठेसम्मका छन्।
नयाँ घर बनाएकामध्ये ४० प्रतिशतभन्दा बढी मानिसहरुले भूकम्पमा कमजोर बनेका पुरानै घरहरुको प्रयोग गरिरहेको अनुमान छ। तर, धेरैजसो भूकम्प प्रभावितहरु नयाँ घरमा सरेका छैनन्। भूकम्पले कमजोर भएका पुराना घरहरु पनि भत्काइएको छैन्। ‘पुरानै घरमा बस्दा फेरि भूकम्प आयो भने ठूलो क्षति हुने खतरा छ,’ नायब सुब्बा घिमिरे भन्छन्, ‘वर्षा वा ठूलो हावाहुरी चल्दासमेत त्यस्ता घरहरु भत्किने डर छ।’
यस वर्षको वर्षामा रामेछापमा घर भत्किँदा ३ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएकाहरु तीनै जना भूकम्पले क्षति र्पुयाएका पुराना घरमा बसेका मानिसहरु भएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेल बताउँछन्। कतिपय भूकम्प प्रतिरोधी घरहरु भूकम्पले क्षति र्पुयाएका पुराना घरकै आडमा बनाइएका छन्।
ती घरमा मानिसहरु बसेका भए पनि पुराना घर भत्किँदा नयाँ घरमा समेत क्षति हुने खतरा छ। नयाँ घर बनाएकामध्ये ४० प्रतिशतभन्दा बढी मानिसहरुले भूकम्पमा कमजोर बनेका पुरानै घरहरुको प्रयोग गरिरहेको अनुमान छ।
नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्की भूकम्पले क्षति र्पुयाएकै घरमा मानिसहरु बसीरहनु सुरक्षाको लागि ठूलो चुनौती रहेको बताउँछन्।
स्थानीय सरकाले केही सहुलियतको व्यवस्था गरेर भए पनि पुराना घर भत्काउन लगाउनु पर्ने उनको भनाइ छ। कार्कीले भने, ‘केही गरेर भए पनि अब पुराना घर भत्काउन लगाउनु पर्यो। अधिकांस पुराना घरमा मान्छे बसेका छन्। मान्छे नबसेकोमा पनि घाँस राखेका छन्, बाख्रा, कखुरा थुनेका छन्। घाँस झिक्न जाँदा वा बाख्रा कुखुरा खोल्न गएको बेला भूकम्प आयो भने पनि त मानवीय क्षति हुनसक्छ।’



लाेकपाटी न्यूज
