व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आग्रह : पूर्वराष्ट्रपति यादव

लाेकपाटी न्यूज

काठमाडौं, २६ असोज। पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल र बलियो बनाउन सबै राजनीतिक दलका नेतालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आग्रह गरेका छन्। उनले शान्ति, लोकतन्त्र र राष्ट्रहितलाई सर्वोपरि राख्नुपर्नेमा जोड पनि दिए।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आइतबार राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिहरूको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै डा. यादवले भने्, ‘‘गिरिजाप्रसाद कोइराला जस्तो दृढ अठोट भएको नेता नभएको भए देशमा लोकतन्त्र र गणतन्त्र आउँदैन थियो।’’

पूर्व राष्ट्रपति यादवले कोइरालाले चार वटा राजाको सङ्गत गरेको र अन्तर्राष्ट्रिय समुदायले लोकतान्त्रिक नेता भनेर चिनेका कारणले नै सरकारले आतङ्ककारी घोषणा गरेको तत्कालीन नेकपा माओवादीसँग १२ बुँदे सम्झौता गर्दा पनि उनलाई कसैले थुन्ने आँट नरेको बताए। गिरिजाप्रसाद कोइरालालाई शान्ति, लोकतन्त्र, गणतन्त्र र संघीयताबाट कसैले चाहेर पनि अलग गर्न नसक्ने विचार पनि उनको छ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालको तीव्र विकासका लागि कृषिको आधुनिकीकरण पहिलो प्राथमिकता हो भने्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री डा. रामशरण महतले बी.पी. कोइराला नेपालको प्रधानमन्त्री हुँदा एक चीन नीति अँगाल्नु भएको र त्यसले अहिले पनि निरन्तरता पाइरहेको बताए।

त्यतिबेलाको संयुक्त राष्ट्रसंघको बैठकमा नै बी.पी..ले चीनलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा राख्नुपर्ने आवाज उठाएको स्मरण पनि डा. महतले गरे। केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसमा विचारलाई बन्देज लगाउने गरी विनियमावली बनाउन लागेको भन्दै विचारको स्वतन्त्रतामा बन्देज लगाएमा कांग्रेस समाप्त हुने चेतावनी दिए।

पूर्व उपप्रधानमन्त्री एवम फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाले अगाडि बढाएकोे सहमति, सहकार्य र एकताको मार्गबाटै शान्ति, लोकतन्त्र, गणतन्त्र संस्थागत भई देशमा समृद्धि आउने बताए।

कार्यक्रममा सांसद मानबहादुर विश्वकर्मा, डा. गोविन्द पोखरेल, खुमबहादुर सुवेदीलगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा गिरिजाप्रसाद कोइरालाको योगदानबारे चर्चा गरे। फाउन्डेसनका ७७ जिल्लामा समिति र विदेशका विभिन्न शहरमा पनि समितिहरू गठन भएको जानकारी दिइयो।