काठमाडाैं, २६ असाेज। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम पक्राउ परेका छन् ।२०६४ सालमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आलम पक्राउ परेको जनाएको छ । पक्राउ परेका आलमलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको जिम्मा लगाइने रौतहट प्रहरी स्रोतले जानकारी दिएको छ ।
पहिलो संविधानसभा चुनाव विथोल्ने उद्देश्यले २७ चैत २०६४ मा रौतहटको फरदवा गाउँ (हाल राजपुर नगरपालिका अन्तर्गत) मा बम विस्फोट गराइएको थियो । उक्त विस्फोटमा परेर ४ जनाको मृत्यु भएको थियो । लामो समयदेखि अनुसन्धानकै क्रममा रहेको उक्त घटनाको विषयमा पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान शुरु गरेको थियो ।
अनुसन्धानको क्रममा आलमको संलग्नता रहेको देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरी स्राेतले जनाएकाे छ। पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटकै हिरासतमा राखेर अनुसन्धान गर्ने कि काठमाडौं ल्याउने भन्ने विषय अहिले नै टुंगो लाग्न नसकेको पनि प्रहरी स्रोतले जनाएको छ ।



लाेकपाटी न्यूज

