काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन्।
नेताहरुले चिनियाँ राष्ट्रपतिसँग एक्लै भेट्ने चाहना व्यक्त गरेको स्रोतको दाबी छ। तर, वैठकमा चिनियाँ पक्षबाट भने पूर्वस्टेट काउन्सिलर याङ जिचीसहित ७ जना सहभागी हुनेछन्। टोलीमा डिङ्ग सुइसियाङ, विदेशमन्त्री वाङ यी, ही लिफेङ्ग र नेपालस्थित चिनियाँ राजदूत हो यान्छीलगायत छन्।
नेकपाको तर्फबाट विदेश विभाग प्रमुखसमेत रहेका माधव नेपालसहित सचिवालयका सदस्यहरु सहभागी हुनेछन्। सचिवालयमा रहेका मन्त्रीहरुको हकमा भने अझै टुंगो लागिसकेको छैन। नेकपाका अध्यक्षसहितको टिमका लागी चिनियाँ पक्षले २० मिनेट समय दिएको छ। चिनियाँ राष्ट्रपति सीले ‘वान टु वान’ भेटवार्ता गर्ने सम्भावना भने नरहेको स्रोतको दावी छ।
चिनियाँ राष्ट्रपति सीले ‘वान टु वान’ मिटिङ अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बाहेक विश्वका अरु नेताहरुसँग नगरेको चिनियाँ स्रोत बताउँछ।
नेकपाका अध्यक्ष प्रचण्डसहितको प्रतिनिधि मण्डलसँग राष्ट्रपति सीले आइतबार बिहान १०.३० देखि १०.५० सम्म २० मिनेट होटल सोल्टीमा भेटवार्ता गर्ने तय भएको छ। त्यसैगरी पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग आजै रात्रिभोज अघि ७ मिनेट जति शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले पनि २ मिनेट जति शिष्टाचार भेट गर्ने बताइएको छ। देउवा पनि सीसँगको भेटमा एक्लै सहभागी हुने तयारीमा रहेको कांग्रेस नेता प्रकाशरण महतले जानकारी दिए। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग पनि राष्ट्रपति सीको सामूहिक रुपमै भेट्ने तयारी छ।



लाेकपाटी न्यूज

