सी चिनफिङले भेट्ने नेपाली नेताको सूचिमा को–को ?

xi jinping president
लाेकपाटी न्यूज

काठमाडौं, असोज। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको शनिबार अपराह्नदेखि दुई दिवसीय राजकीय भ्रमणका लागि काठमाडौं आई पुग्नेछन्।

तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो। शनिबार काठमाडौँमा विशेष विमानबाट अवतरण गरेपछि केही क्षणको विश्रामपछि चिनियाँ विशिष्ट पाहुनाले आफ्ना नेपाली समकक्षी श्रीमती भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ। शनिबार नै राष्ट्रपति सीसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिष्टाचार भेट गर्नेछन्।

आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ। राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यद्यपि उक्त मन्त्रालयले वार्ताको मिति सार्वजनिक गरेको छैन।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ।