काठमाडाैं, १२ असाेज। विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले पार्टीको चुनावमा कुनै पनि पदमा नउठ्ने बताएकी छन्। कात्तिक २ गते सकिने विवेकशील नेपालीको आन्तरिक चुनावमा कुनै पनि पदमा उम्मेद्वारी नदिने आफैंले निर्णय गरेकाे उनले बताएकी हुन्।
उनले भनिन्, ‘मैले आफैं पार्टीका कुनै पदमा उम्मेद्वारी नदिने निर्णय गरेकी हुँ। कारण भन्ने बेला भएको छैन। भविष्यले बताउँछ।’ विवेकशीलकी केन्द्रीय सदस्य रहेकी रञ्जुले साढे दुई वर्षअघि भएको स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा झन्डै २३ हजार मत पाएकी थिइन्।
त्यसपछि हुन लागेको पार्टी महाधिवेशनमा उनको उम्मेद्वारीबारे धेरैलाई चासो थियो। तर उनले भने पदबाहिरै बसेर पार्टीमा काम गर्ने साेच भएकाे बताएकी छन्। ‘पार्टीमा काम गर्न पदमा हुनैपर्छ भन्ने छैन। म बाहिर भए पनि सक्रिय रहन्छु,’ उनले भनिन्।
उक्त पार्टीका प्रवक्ता रहेका मिलन पाण्डेले रञ्जुले विशेष कारण देखाएर कुनै पदमा उम्मेद्वारी नदिएको बताए। उनले भने, ‘उहाँले आफैं निर्णय गर्नुभयो। पछि मनोनितबाट उहाँलाई केन्द्रीय सदस्य बनाउने बाटो भने अझै छ।’
विवेकशीलका अध्यक्ष उज्ज्वल थापाले पार्टीको आन्तरिक चुनावमा कुनै पनि पदका लागि उम्मेद्वारी नदिने बताइसकेका छन्। तीन वर्षपछि हुने स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा फेरि लड्ने भएकाले पार्टीको चुनावमा रन्जुले उमेद्वारी नदिएको विवेकशील स्रोतले बतायो।
२०७४ वैशाखमा भएको चुनावमा रञ्जु काठमाडौंको मेयरका लागि भएको चुनावी प्रतिष्पर्धामा तेस्रो भएकी थिइन्। त्यो बेला उनले २२ हजार ५ सय ४९ मत ल्याएकी थिइन्। पहिलो पटकमै उत्साहजनक भोट ल्याएकी रञ्जु अर्को चुनावमा पनि मेयर उठ्ने मन बनाएकाले पार्टीको आन्तरिक चुनावमा उम्मेद्वारी नदिएको स्रोतको दाबी छ।



लाेकपाटी न्यूज

