बुटवल, ९ असाेज। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका नेताहरू राणाशासन वा पञ्चायतकालिन हाकिम/बडाहाकिमजस्तै हुने गरेको बताएका छन्।
रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाको आयोजनामा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्रै हुने अनावश्यक टिकाटिप्पणीले कसैलाई हित नगर्ने बताए। साथै राजनीतिक दल तथा नेताहरुले आफ्नो आचरण सुधार गर्नुपर्नेमा पनि उनले जाेड दिए।
‘जातिवित्ति नकारात्मक टिप्पणी भएको छ, यसले कसैलाई हित गर्दैन’, प्रचण्डले भने,‘राजनीतिक दल तथा नेताहरुमा सुधार समेत आवश्यक रहेको छ, हामी कम्युनिस्ट बडाहाकिम जस्तै भयौं, हामी पञ्चायतकालीन बडाहाकिम कि अरु भन्नेमै अन्योल छ, त्यसैले बडाहाकिम शैली फेरौं।’
निजी क्षेत्रलाई नाफा कमाउने सुरक्षा र स्वतन्त्रता भएकै कारण चीन, भारत, सिंगापुरको विकास सम्भव भएको भन्दै उनले त्यो वातावरण अब नेपालमा बन्ने विश्वास गरे। विगतमा निरकुंश व्यवस्थाका कारण मुलुक आर्थिक रुपमा कमजोर भए पनि अब पनि मुलुक समृद्धितर्फ जाने प्रचण्डको भनाई छ। उनले भने, ‘२४० वर्षको शैली परिवर्तन गर्न कठिन छ, ढेड वर्षमै सम्भव पनि हुँदैन। टिकाटिप्णी मात्रै गरेर अराजकता निम्त्याउनु हुँदैन।’
सम्भावनै सम्भावना भएको रुपन्देहीमा लगानीको वातावरण बन्दै गएकोसमेत प्रचण्डले प्रष्ट पारे। उनले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अत्याधिक पर्यटक भित्रिने दाबी गरे।



लाेकपाटी न्यूज

