काठमाडाैं, ९ असाेज । नेपालमा सी चिनफिङ विचारधाराबारे बहस भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो देश विचार निर्यात गर्ने मुलुक नभएकाे र चीनले कहिल्यै विचार निर्यात नगर्ने बताएकी छिन्।
चीन अध्ययन केन्द्रले आयोजना गरेको ‘सी चिनफिङ थटः बिल्डिङ अ कम्युनिटी विद अ सेयर फ्युचर फर मेनकाइन्ड’ शीर्षकको कार्यक्रमलाई बिहिबार सम्बोधन गर्दै राजदूत यान्छीले सी विचारधारा पहिल्यै अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गरिन्। उनले भनिन्, ‘चीनले पहिले पनि अन्य देशमा विचार निर्यात गर्दैनथ्यो र अब पनि गर्दैन। चीनले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप पनि गर्दैन।’
चीनका राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणका क्रममा चीनबाट आएका कम्युनिष्ट पार्टी र थिङ्कट्याङक समूहहरूले काठमाडौंमा निरन्तर सी चिनफिङ विचारधारामाथि बहस चलाइरहेका छन्। यस्ता बहसलाई सत्तापक्षले राष्ट्रपतिको भ्रमणको माहोल बनाउन गरिएको बताउने गरेका छन् भने विपक्षीले भने चीनले फेरि विचार निर्यात गर्न लागेको भन्दै प्रश्न उठाइरहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच केही दिनअघि काठमाडौंमा सी चिनफिङ विचारधारामाथि दुई दिने छलफल आयोजना गरिएपछि चीनले नेकपा मार्फत् नेपालमा सी विचारधारा लाद्न खोजेको चर्चा भइरहेको छ।
नेकपाले वैचारिक सामिप्यताको कारणले मात्रै सी विचारधारामाथि बहस भएको बताएपनि सत्तारुढ दुई कम्युनिष्ट पार्टीबीच ६ बुँदे सम्झौता समेत भएपछि खासगरी विपक्षी नेपाली कांग्रेसले प्रश्न उठाइरहेको छ।
राजदूत होउ यान्छीले दुई कम्युनिष्ट पार्टीबीच भएको वैचारिक बहसलाई अन्यथा नबुझ्न आग्रह गरिन्। ‘सी चिनफिङ विचारधारा यसअघि नै अन्तर्राष्ट्रियकरण भैसकेको छ’, उनले थपिन्, ‘विकासको नयाँ अवधारणा भएकाले नेपालजस्ता विकासशील राष्ट्रमा सी विचारधार बहसको तातो विषय बनेको हो।’
उनले नेपाल–चीन घनिष्ठ सम्बन्ध भएका मित्रराष्ट्र भएको दोहोर्याउँदै दुई देशबीचका छलफलहरु आर्थिक र सामाजिक विकासको विषयमा केन्द्रित रहेको उल्लेख गरिन्।
चीन अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, चिनियाँ विज्ञ वाङ ग्याङयी, चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराई र महासचिव उपेन्द्र गौतमले आफ्ना विचार राखेका थिए।



लाेकपाटी न्यूज

