‘बन्दुक बाेक्ने जति कम्युनिष्ट भए कांग्रेस पहिलाे कम्युनिस्ट पार्टी भइसक्थ्याे’

Narayanman Bijukchhe
लाेकपाटी न्यूज

ललितपुर, ८ असोज। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले क्रान्ति पूरा गर्न पार्टीले आफूलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको बताएका छन्।

मंगलबार कमलविनायकस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू पार्टीको कार्यकर्ता मात्रै भएको र सातौँ महाधिवेशनले आफूलाई पुनः जिम्मेवारी दिएको बताए।

पत्रकार सम्मेलनमा अध्यक्ष बिजुक्छेले भने, ‘हामी पार्टीका कार्यकर्ता हौं, पार्टीले जे जिम्मेवारी दियो, त्यही जिम्मेवारी लिने हो, देशमा अझै माक्र्सवाद ल्याउन बाँकी छ, माक्र्सवादको त्यही क्रान्ति पूरा गर्न पार्टीले मलाई पुनः अध्यक्षको जिम्मेवारी दियो।

’देशमा समाजवाद र साम्यवादी व्यवस्था नआएसम्म क्रान्ति जारी रहने बताउदै बिजुक्छेले बन्दुक बोकेर क्रान्ति नआउने र बन्दुक बोकेकै भरमा कोही पनि कम्युनिष्ट नहुने बताए।

बिजुक्छेले भने, ‘बन्दुक बोकेकै भरमा माओवादीलाई कम्युनिष्ट भन्न सकिन्न, बन्दुक बोक्ने सबै कम्युनिष्ट हुने भए नेपाली कांग्रेस २००७ सालमा कम्युनिष्ट भैसक्थ्यो, पृथ्वीनारायण शाहदेखि राणाहरु समेत उहिल्यै कम्युनिष्ट भइसक्थे।

देशमा नेमकिपा मात्रै साँचो अर्थमा प्रतिपक्ष रहेको दाबी गर्दै उनले भागबण्डामा सहभागी हुने पार्टी प्रतिपक्ष हुन नसक्ने र भागबण्डामा सहभागी हुने नेपाली कांग्रेस प्रतिपक्ष हुन नसक्ने तर्क राखे।

नेपाली कांग्रेस र अहिलेको सरकारमा कुनै भिन्नता नरहेको टिप्पणी गर्दै उनले पञ्चायतको पद्धतिमा कांग्रेस, कांग्रेसकै शैलीमा अहिलेको सरकार सञ्चालन भएको आरोप लगाए।