काठमाडाैं। आजकाल मोबाइलले सिरानी छोड्न सकिरहेको छैन। एकाबिहानै हाई नकाड्दै हातमा मोबाइल लिएपछि बल्ल भालेले बैँस उमाल्यो- “कुखुरी काँ।” फेसबुकको मेसेज बक्सको रातो नोटिफिकेसन खोल्दा हिजाे उत्तर दिन बाँकी अनुत्तरित प्रश्न छोडिएको पाएँ। बासी प्रश्नवाल थिई सन्नि ! मैले हिजाे च्याट गर्दा गर्दै मनमनै गमेर सुतेको नाम ।
“काठ पसेपछि मुलाको के स्वाद?” सायद तन्नेरीपन हिँडेको देखेर होला उसले सोधेकी थिई- “बिहे उमेर छँदै गर्ने होइन ?”
बाहिर निष्पट्ट चकमन्न अँध्यारो रातकोको सहयोगमा भ्यागुताहरुको ट्यार्र-ट्यार्र आवाज टड्कारो हुँदा जुनकिरी भने कता हो कता भूमिगत थिए । छातीमा गाँजतिरबाट फुल्ने तरखरमा रहेका रौँ सुमसुमाएपछि पुरुषत्वोको ध्वाँसलाई भए पनि यति त भन्नै पर्थ्यो – “गर्ने त हो तर कस्लाई ?” सोधेर म निन्द्रामा लुटपुटिएको थिएँ। “कस्तो खालको केटी मन पर्छ ?” भन्ने बासी प्रश्नले म्यासेस बक्स रातो रंगले रंगिएको रहेछ।
भालेको आवाज नेपथ्यको डाँडोमा बिलाएको थियो। घामका किरण झ्यालको पर्दाका प्वाल प्वालबाट बिस्तरा माथिको ममाथि पनि चढिसकेका थिए। ढोकामा आमा चियाको गिलास लिएर मलाई उठाई रहनुभएकाे छ। तर अल्छिपनले गाँजियको, सुतेर खान पल्केको म लठ्ठुस्वाँठलाई के को मतलब ? आमाको उपस्थितिलाई पुरापुर बेवास्था गर्दै कोल्टे परेर आसन फेर्दै हाँस्दै लेखें- “कम्तिमा तिमी जस्ति।”
“उफ् उफ् !”-कुरामा स्तर नभेटेकोले होला, उताबाट आयो- “यही भन्छौ भन्ने मलाई पहिला नै लागेको थियो।”
मेरो जबाफमा पनि यही नै आउँछ भन्ने मलाई पनि नलागेको त कहाँ हो र ? आजकाल च्याट लगभग एउटै गणितीय सुत्रमा हुने गर्छ। केटा जिस्काउँदै फसाउने बल्छी थाप्छ, केटी पनि जिस्कँदै उनिन खोज्छे। त्यसमाथि प्रोफाइलमा जेन्डर खुलाइएको पनि त छैन। कोही परिचित साथी मलाई जिस्काउँदै मेरो प्रेमको रहस्य जान्न खोजेको हुनुपर्दछ भन्ने मेरो शंखाको सुईले फन्को नमारेको पनि कहाँ हो र ? उ कहिँ-कतै कफी बसाईमा मेरो प्रेम रहस्य फुकाएर कम्तिमा हाँसोको फोहोरा छुटाउने प्रयत्न गरेको भान मलाई परेको छ।
भनिन्छ नि सास रहुन्जेल आस रहन्छ। कोही मेरो प्रेम रहस्यकै निम्ति यति उत्सुक किन होला र ? यत्रो समय किन लगाई रहेको छ ? हुन त आजकालका बेफ्वाँके साथीहरुलाई समयको महत्व कति नै छ र ? संखाको भुमरीबीचबाटै फेरि प्रोफाईल खोलेर हेर्छु, स्टाटस भने सिंगलै रहेछ। निमेष भरकै लागि भए पनि म आशाको लामो श्वास लिन्छु। उताबाट सिधा-सिधा विवाहको प्रस्ताव निस्केको छ तर म कम्तिमा प्रेम सम्ममै अलमलाउन चाहन्छु।
हरेकसँग चाहना हुन्छन् र हरेक चाहना रंगिन हुन्छन्। तर मेरा बाबा-्आमा मेरो लागि रंगिन चाहना बोक्नु हुन्छ। नियमित पूजापाठ सकेर आमा फेरि मेरो ढोकामा प्रकट हुनुभयो। हातमा पूजाको थाली देखेपछि म घडी हेर्छु। आमा झर्कँदै मलाई उठाउनु हुन्छ। म लाजले गोडा लतार्दै उठेर मुख धुन्छु र टीका थाप्छु। पहिले रातो टीका अनि बीचमा पहेँलो टीका लगाएपछि दुई थरि रंगका टीकोमा म निकै राम्रो देखिएको र एक रंगमा नदेखिएको आमा सम्झाउनु हुन्छ।
आमाले म एउटा रंग र कोही केटी मेरो अर्को रंग बनोस् भन्ने अभिप्रायमा थप्नुहुन्छ- दुई भिन्न रंग मिल्दा अस्तित्व र सुन्दरता बढ्छ। घुमाउरो ढंगबाट अब बुहारी भित्राउनु पर्छ भन्ने भाव दिई रहनु भएकी आमाको कुरालाई बेवास्ता गर्दै म म्यासेज बक्स भित्रको च्याट प्रति ध्यानमग्न हुन्छु। म सन्नि प्रति उत्सुकताको लहर मनभरि फैलाउँछु। आमा ढोका जोडले बजाउँदै बाहिरिनु हुन्छ तर केही नभनी।
एकछिनको च्याट पछि उनले थपिन्- “अनि जात-भात मिल्नु पर्दैन ?”
जात…..!!
म अलिक झस्किएँ। कुरा मेसेज बक्सभित्रको भए पनि छलफलको सम्भावित नतिजा सडकसम्मको पनि हुन सक्थ्यो। सन्नि ! केटा कि केटी आफैँ दोधारमा भएको बेला गम्भिर खाले प्रश्नले मलाई परिवर्तनको संघारमा रहेको राजनीतिक व्यवस्था प्रति सोच्न बाध्य बनायो । तर उत्तर फर्काउन भने उचित नलागी मात्र डर लाग्यो। उता बाबा-आमा चिना बोकेर ज्योतिषको ढोका ढक्ढक्याउन घरबाट निस्कनु भयो यता म सोँचमग्न भएर टोलाई रहेँ।



लाेकपाटी न्यूज

