गंगाले ल्याइन् ‘फूलको आकार’

लाेकपाटी न्यूज

काठमाडौं, ६ असाेज। पूर्वी पहाडी जिल्ला खोटाङकी गंगाकुमारी राई ‘सुम्निमा’ दोस्रो गजलसङ्ग्रह ‘फूलको आकार’ लिएर आएकी छन् ।

उनको उक्त गजलसङ्ग्रह राजधानीमा आयोजित एक कार्यक्रमममा वरिष्ठ कवि जसराज किराती, प्राज्ञ शशी लुमुम्बू, वरिष्ठ गजलकार ललिजन रावल, वरिष्ठ कवि तथा गीतकार डा. विष्णु राई, समाजसेवी राकेश राई लगायतले विमोचन गरे ।

रावासावा प्राज्ञिक समाज, काठमाडौँद्वारा आयोजित कार्यक्रममा विमोचनपछि बोल्दै प्रमूख अतिथि जसराज किरातीले गंगाको गजलसङ्ग्रह पहिलोभन्दा निकै परिमार्जित भएर आएको दाबी गरे । उनले निरन्तरको साधनाबाटै लेखन खारिने विचार व्यक्त गरे ।

प्राज्ञ शशी लुमुम्बूले स्रष्टा/सर्जकहरू समाजका जिम्मेवार मान्छे भएको हुनाले समाजलाई मार्गदर्शन गर्ने साहित्य लेखिनुपर्नेमा जोड दिए । उनले गंगाका कतिपय गजलले समाजको मर्म बोकेको बताए ।

कार्यक्रममा विमोचित पुस्तकमाथि वरिष्ठ गजलकार ललिजन रावलले समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए । उनले गंगाका गजलहरूले माया, प्रेम, समाज, संस्कृति, प्रकृति लगायत जीवन र जगत्का यावत विषयहरूलाई न्यायिक ढङ्गले उठाएको बताए ।

कार्यक्रममा डा. विष्णु राई, समाजसेवी राकेश राई, समाजका अध्यक्ष तथा गीतकार टीका चाम्लिङ, उपाध्यक्ष कवि बम बानियाँ, सचिव कवि चन्द्र रानाहँछा लगायतले गजलकार गंगाको गजलसङ्ग्रहबारे बाेलेका थिए । गजलकार गंगाले लेखन अनुभूति सुनाएकी थिइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्