चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : गृहमन्त्रीले बोलाए आकस्मिक सूरक्षा बैठक

Ram Bahadur thapa Badal
लाेकपाटी न्यूज

काठमाडौं, ५ असाेज। चिनियाँ राष्ट्रपति सी चिनफिङको असोज अन्तिम साता हुने भनिएको संभावित भ्रमणको सूरक्षा व्यवस्थापनका लागि गृहमन्त्री रामबहादुर थापाले सूरक्षा अंगका प्रमूखहरुसँग छलफल शुरु गरेका छन् ।

आइतबार नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग भएको ‘गोप्य भेटवार्ता’पछि गृहमन्त्री थापाले सूरक्षा प्रमूखहरुको बैठक बोलाएका हुन् । गृहमन्त्री थापाले बोलाएको बैठकमा नेपाली सेनाका उच्च अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमूख सहभागी छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार केही समय अगाडिदेखि सूरक्षा प्रमूखहरुको बैठक गृह मन्त्रालयमा शुरु भएको हो । बैठकमा राष्ट्रपति सीको सम्भावित भ्रमण केन्द्रित सूरक्षा रणनीतिका विषयमा छलफल हुने जनाइएको छ ।

गृहमन्त्री बादलले बोलाएको बैठकमा गृहसचिव प्रेमकुमार राई पनि सहभागी छन् ।चिनियाँ राष्ट्रपति सीले असोज अन्तिम साता नेपालको भ्रमण गर्ने जनाइएको छ ।राष्ट्रपति सीको भ्रमण र सूरक्षा व्यवस्थापनको विषयलाई लिएर नेपालका लागि चिनियाँ राजदूत यान्छी आइतबार गृहमन्त्री बादललाई भेट्न गृह मन्त्रालय पुगेकी थिइन् ।

राजदूत यान्छीसँगको भेटवार्ता पछि गृहमन्त्रीले आकस्मिक सुरक्षा बैठक बोलाएका हुन् । बैठकमा राष्ट्रपति सीको संभावित भ्रमणको तयारी र सुरक्षा रणनीतिको प्रारम्भिक तयारीबारे छलफल हुने गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

‘यो बैठकमा ४ वटै सुरक्षा निकायको जिम्मेवारी र सुरक्षा रणनीतिका समयमा निर्वाह गर्न सकिने भूमिकाका बारे छलफल हुने छ,’ गृह मन्त्रालयले स्रोतले भन्यो, ‘सूरक्षा रणनीतिलाई अन्तिम रुप दिन अर्को बैठक बस्न सक्छ ।’