‘न्याय नपाए राष्ट्रिय मानव अधिकार आयोगको ढोकामा मर्छु’

लाेकपाटी न्यूज

काठमाडौं, ५ असोज । गत असार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का कुमार पौडेलको हत्या गरिएको घटनालाई लिएर उनको परिवारले दोषीलाई कारवाहीको माग गर्दै हत्याको सत्य, तथ्य छानविन गर्न सरकारसँग माग गरेको छ । सही छानविन नभए आफूहरु कडा रुपमा प्रस्तुन हुने पनि पीडित परिवारले चेतावनी दिएको छ ।

आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित परिावरले यस्तो माग गरेको हो । मृतकका भाई हरिकृष्ण पौडेलले आफ्नो दाइको हत्या भएको तीन महिना बितिसक्दा पनि राष्ट्रिय मानव अधिकार आयोगले घट्नाको सत्य, तथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक नगरेकोमा गुनासो पोखे ।

उनले आफ्ना दाइ कुमारले सागरनाथ वन विकास परियोजनामा बसेका सुकुम्वासीको हितमा आवाज उठाउँदा र पेट्रोल पम्पको लागि सरकारले खरिद गरेको जग्गामा भएको घोटालाको विषयलाई जोडदार रुपमा उठाउँदा सरकारले निशाना बनाएको आरोप लगाए । उनले सरकारले १८ देखि १९ करोडको जग्गा घोटला गरेको र सुकुम्बासीको जग्गामा कम्यसनिष्ट पार्टीहरु मिलेर २१ करोडको जग्गा अतिक्रमण गरी कब्जा गरेको सुनाए ।

उनले आफ्नो दाइलाई मार्नको लागि बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, श्याम परदेशी र सागरनाथ वन परियोजनाको मिलेमतो रहेको दाबी गरे । दाईको हत्या गर्नको लागि उनीहरुले १० करोड खर्च गरेको पनि पौडेलको आरोप छ । दाईलाई हत्या गरेर मार्नुपर्छ भनेर सरकारसामु डेलिगेशन आउनेमा भरतकुमार थापा, श्याम परदेशी, सागरनाथ परियोजनाका प्रतिनिधि, प्रदेश सांसद डिल्ली उप्रेती, बसन्तराज भट्टराई, कमल बुढाथोकी र ढाचा वाग्ले रहेको पनि उनको दाबी थियो ।

उनले आफ्नो दाइको दोहोरो भिडन्तमा नभई सरकारले खासगरी गृह मन्त्रालयले सुनियोजित ढंगले हत्या गरेको आरोप लगाए । उनले भने,‘यदि दोहोरो भीडन्तमा मारिएको थियो भने मेरो दाइको शरीरमा गोली लागेको हुनुपर्ने थियो। तर, उहाँले लगाएको वस्त्रमा गोली लागेको थिएन । नांगो शरीरमा गोली ठोकेर पछि टिसर्ट लगाइएको थियो।’ त्यस्तै, उनले दाइलाई हत्या गरेको हो भन्ने कुराको अर्को प्रमाण सुताएर पैतालाबाट गोली हानी घुँडाबाट निकालिएको पनि सुनाए ।

उनले भने, ‘मेरो दाइको शरीरमा १५ गोली लागेको थियो, दाँत र हात भाँच्चिएको हुँदा कुनै पनि हालतमा यो इन्काउटर थिएन, बरु हत्या नै हो । म यसलाई नियन्त्रित र सुनियोजित घटना भएको दाबी गर्छु ।’ प्रतिवेदनमा ६ वटा गोली लागेको भन्ने उल्लेख गरेको छ तर मृतकको शरीरमा १५ गोली लागेको उनको दाबी छ ।
उनले भने, ‘हामीलाई दाइको लास जबरजस्ती जिम्मा लगाइयो, राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि न्याय दिलाउन सकेन, न्याय माग्न आयोगको ढोकामा जाँदा अपमानित भयौं ।’

आफूहरुलाई न्याय दिन नसक्नुमा वर्तमान सरकार गृह मन्त्रालय नै बढी जिम्मेवारी रहेको सुनाउँदै उनले भने, ‘यदि छानविन गर्न सक्दैन भने किन जिम्मेवार लिन्छ । उनले गृहमन्त्री राम बहादुर थापा (बादल), आइजीपी, सिडिओ, एसपी, बागमती नगरपालिकका मेयर भरत बहादुर थापा, प्रदेश सांसद दिल्ली उप्रेती, सागरनाथ वन परियोजना, वसन्त भट्टराई, कमल बुढाथोकी, दाताराम वाग्ले र श्याम परदेशीलाई कारवाहीको माग गरे ।

कार्यक्रममा मृतककी श्रीमती कला पौडेलले सरकारले आफ्नो श्रीमानको हत्यालाई दोहोरो भीडन्त भने पनि वास्तवमा त्यो दोहोरो भीडन्त नभएर गैरन्यायिक हत्या भएको दाबी गरिन् । उनले आफ्नो श्रीमानलाई ‘इन्काउन्टर’ मा नभएर कुटपिट तथा शरीर थिलथिलो बनाएर नियन्त्रित बनाई हत्या गरेको बताइन् ।

उनले राष्ट्रिय मानवअधिकार आयोग, गृह मन्त्रालय, सरकारलाई सत्य, तथ्य छानविनका लागि दवाब दिएकी छिन् । उनले सम्पूर्ण मिडियाहरुलाई आफूहरुलाई न्यायको लागि सक्दो सहयोगको गर्न अपिल गरिन् ।

कार्यक्रममा मृतककी आमा दुर्गादेवी पौडेलले रुदैँ भनिन्–‘तीन छोरी पछिको एक मात्र छोरा थियो त्यसलाई पनि सरकारले योजनाका साथ मारिदियो मेरो बाँच्ने साहारा खोस्यो ।’ छोराको हत्या भएको समयमा १३ हजार मलामी देख्दा मेरो एक मात्र छोरा होइन रहेछ, मेरा छोराहरु त धेरै रहेछन् जस्तो लागेको थियो किनकी त्यत्तिबेला सबैले हत्यारा पत्ता लगाउन हामी सहयोग गर्छौँ भनेर आशा देखाएका थिए । तर, आज ती कुनै पनि छोराहरुले मलाई यो न्यायको लडाइमा साथ दिन आएनन् ।’

छोराको हत्या भएपछि सयौँ पत्रकार र मानवअधिकार पुगेको सुनाउँदै उनले तर आज यतिका दिनसम्म पनि न्याय नपाएकोमा गुनासो पोखिन् । उनले भनिन्,‘म ७० वर्षको बृद्धा कहाँ जाऔँ ? कोसँग न्याय मागौँ ? आज म न्यायका लागि न्यायको भीख माग्दै यहाँसम्म आएको छु । मलाई न्याय चाहियो ।’ उनले न्याय नपाए आफू राष्ट्रिय मानव अधिकार आयोगको ढोकामा गएर मर्न तयार भएको जनाइन् ।

उनले रुँदै भनिन्–‘१५ बर्षको नातीले एसएसपीलाई मेरो बाबालाई पैसा खाएर मार्यौ यदि मेरो बाबाको हत्यारा पत्ता नलगाए र हामीलाई न्याय नदिए मेरो कलम समाउने हातले बन्दुक समाउने छ भन्छ, त्यो बालकले यस्तो भन्दा बालकको मस्तिष्कमा समेत यस्तो छाप बसेको हुँदा न्यायका लागि सम्पूर्ण मिडियाकर्मी संघसस्थालाई समेत सहयोग गरिदिन आग्रह गर्छु ।’

कार्यक्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले लोकतन्त्र र गणतन्त्रको व्यवस्था गरे पनि संविधानलाई ध्वस्त पारेको आरोप लगाए । उनले सरकारले नागरिकको हत्या गर्दै गएको गम्भिर आरोप लगाए ।

प्रहरीको बन्दुक नागरिकको रक्षा गर्नको लागि भएको र कुमार पौडेलको हत्या इन्काउन्टर नभएर हत्या भएको उनको दाबी थियो । उनले भने, ‘कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको हो । त्यो दिन त्यस क्षेत्रमा आवतजावतमा रोक लगाएको र राज्यले नै कानून हातमा लिएर सुनियोजित ढंगबाट हत्या गरेको हो ।’
इन्काउन्टरमा मारिएको हो भने यसको छानविन उच्चस्तरीय रुपमा हुनुपर्ने उनको माग छ । उनले राष्ट्रिय मानव अधिकार आयोगले यो घट्नामा गम्भिरतापूर्वक छानविन गर्नुपर्ने बताउँदै यसरी मौन भएर बस्न नमिल्ने पनि टिप्पणी गरे ।

प्रहरीको बर्दी लगाउँदैमा कानून हातमा लिन नपाइने उनको भनाई छ । मुलुकमा विधिको शासन सबैलाई लागू हुने बताउँदै राज्य, सरकार, प्रहरी आतंकवाद हुन नहुने ठाउँमा यहाँ त राज्य नै आतंकवाद भएर प्रस्तुत भएको उनको भनाइ छ । हत्या पूर्व नियोजित र सुनियोजित तरिकाले हत्या गरेको हुँदा यसमा सरकार, गृह मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगले सही तरिकाबाट छानविन गरी हत्यारालाई सजाय दिन पनि उनले आग्रह गरे ।

त्यसैगरी, मानवअधिकारकर्मी चरण प्रसार्इंले कुमार पौडेललाई कब्जामा लिएर हत्या गरेको बताए । उनले यो हत्या घट्नामा संलग्न दोषीलाई अनुसन्धानबाट पत्ता लगाउने र कानूनको कठघरामा ल्याउनुपर्ने बताए ।

राज्यले गैरकानूनी रुपमा नागरिकको हत्या गर्छ भने राज्य पनि कानूनको दायरामा आउनुपर्ने उनको भनाई छ । उनले प्रश्न गरे, ‘घटनाको सत्य, तथ्य पत्ता लगाएर पनि मानव अधिकार आयोग किन चुप लागेर बसेको छ ? म प्रश्न गर्न चाहन्छु ।’

पीडितलाई अपहेलित गर्न मिल्दैन भन्दै पीडितको आवाज सुनिदिन पनि उनले आग्रह गरे । उनले पीडित परिवारलाई न्याय दिलाउन सरकार पछि हटे पत्रकार लगायत मानवअधिकारवादी संघसस्थालाई अगाडि बढ्न अनुरोध समेत गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्