महानगरका हरेक वडामा खेल मैदान निर्माण गर्छौं : मेयर दाहाल

renu dahal
रासस न्यूज

चितवन, ४ असोज। प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता शनिवारबाट शुरु भएको छ। प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले उद्घाटन गरिन्। सो अवसरमा उनले खेल क्षेत्रको विकास गर्न महानगरपालिका लागि परेको बताइन्।

उनले भनिन्, ‘महानगरका हरेक वडामा खेल मैदान निर्माण गर्ने प्रक्रियामा हामी रहेका छौं’। यसले खेल क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने छ।’ खेल क्षेत्रको विकासले देशको नाम उच्च राख्न मद्दत पुग्ने उनको भनाइ थियो।भरतपुरको गेष्टहाउस चौरमा शुरु भएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन्।

प्रतियोगितामा प्रथम हुने टिमलाई कपसहित रु एक लाख एक हजार १११ र दोस्रो हुनेले कपसहित रु ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्ने छन्। त्यसैगरी म्यान अफ दी म्याचलाई नगद र ट्रफी दिइने छ। अन्त्यमा म्यान अफ दी सिरिजलाई रु १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र हाइ स्कोररले जनही रु पाँच÷पाँच हजार पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगितामा चितवन रातो र चितवन नीलो गरी जिल्लाका दुई टिम सहभागी भएका छन्। भारतबाट दुईवटा टिमले सहभागिता जनाएका छन्। सहभागी क्लबलाई दुई समूहमा विभाजन गरिएको छ। दुबै समूहमा आठ–आठ टोली रहेका छन्। समूह ‘ए’ मा आयोजक चितवन भेटेरान (नीलो) सहित मकवानपुर भेटेरान हेटौँडा, अभिषेक चर्च नवलपुर, रोयल भेट्रान दार्जिलिङ(भारत), बगर भाइ खलक पोखरा, टी बरगर ललितपुर, नाइट किङ काठमाडौं र नवलपुर भेट्रान क्लब छन्।

यस्तै समूह ‘बी’ मा चितवन भेट्रान (रातो)सहित सानो गौचरन काठमाडौं, रुपन्देही भेट्रान ११ बुटवल, बीबीसी भेट्रान बनेपा, झापा भेट्रान, युथ एकेडेमी वीरगञ्ज, देहरादुन एफसी भारत र कैलाली भेट्रान रहेको आयोजक चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रतियोगिताको पहिलो चरणको खेल दुई दिन हुनेछ। दुबै दिन चार-चार वटा खेल हुने तालिका छ। सहभागी १६ मध्ये आठ टोली क्वाटरफाइनल प्रवेश गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्