काठमाडौं । संविधान दिवसको अवसरमा सुन्दरका विद्युतीय बस सुन्दर यातायातले काठमाडौंमा निःशूल्क बस सेवा प्रदान गरेको छ । कम्पनीले शुक्रबार काठमाडौंको रिंगरोडको रुटमा चलिहरेका आफ्ना विद्युतीय बसमा निःशूल्क सेवा दिएको हाे।
कम्पनीका अध्यक्ष भेषबहादुर थापा अनुसार बिहान ८ बजेबाट सेवा प्रदान गर्न सुरु गरेका बसले बेलुका ५ बजे सम्म विद्युतीय बस सुन्दर यातायातका चार वटा बसले निःशूल्क रुपमा सेवा प्रदान गर्ने छन्। उनले भने, ‘संविधानसभाबाट संविधान जारी भएको सुखद् दिनको सम्झनामा विद्युतीय बसमा यात्रुलाई निःशूल्क यात्रा गराएका हौं। ‘ यसले विद्युतीय बसप्रति नागरिकको सकारात्मक भावना जागृत गर्न सहयोगी पुग्ने उनको भनाई छ।
सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि गत भदौ २३ गतेबाट निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको थियो ।
कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेकोछ । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याउन सफल भएको हो ।
सुन्दरले हाल ल्याएका बस ब्याट्रीबाट चल्ने बीएके कम्पनीका हुन् । बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको छ । कम्पनीले थप ५० वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ ।



लाेकपाटी न्यूज
