लोकतन्त्रको विषयमा प्रधानमन्त्रीले भने, ‘जब डमरु खतरामा पर्छ, तब जाइलाग्छ’

PM_KP
लाेकपाटी न्यूज

काठमाडौं, १ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षबाट लोकतन्त्रमाथि खतरा पैदा गर्न खोजिएको बताएका छन्। सिंहदरबार परिषरमा निर्माण हुने संघीय संसद भवनको शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षाका लागि सरकारले नियन्त्रणकारी भूमिका पनि खेल्नु परेको बताएका हुन्।

उनले भने, ‘लोकतन्त्रमाथि खतरा आइसकेको छैन, तर खतरा निम्त्याउने प्रयासहरु भइरहेका छन्। बघिनीले डमरुमाथि खतरा पैदा नहुन्जेलसम्म केही गर्दैन, जब डमरु खतरामा पर्छ तब जाइलाग्छ। सरकार पनि लोकतन्त्रमाथि खतरा आइलाग्यो भने जाइलाग्ने छ। सरकार चुप लागेर बस्दैन।’

अब नेपाली समाजमा हिंसाका लागि कुनै स्थान नरहेकाले हाल भइरहेका हिंसात्मक प्रयासहरु क्षणिक वितण्डा मात्रै रहेको बताए। उनले भने, ‘हिंसा र लुटपाट मच्चाउनेलाई सरकारले छुट दिँदैन।’ सरकारले सन्तोषजनक काम गर्न नसकेको भनेर भइरहेको आलोचना जायज रहेको प्रधानमन्त्री ओलीले बताए।

सरकारको कामले जनचाहना अनुरुप गति लिन नसकेको पनि उनले स्वीकार गरे। ओलीले भने, ‘कामको गति सुस्त भयो भनेर भइरहेका गुनासाहरु जायज छन्। देशको विकासले गति लिन नसकेको हो। सरकार यी गुनासाहरुप्रति गम्भीर छ। यो सरकारको डेढ वर्षको अवधि खासै सन्तोषजनक नरहे पनि अब बाँकी समयमा कामको गति तीव्र हुन्छ। अब सरकारका काम देखिँदै जाने छन्।’

कार्यक्रममा उनले तोकिएको समय भित्रै संसद भवन निर्माण हुने बताए।