हेटौंडा, १ असोज। प्रदेश ३ सरकारले संविधान दिवसलाई तीन दिनसम्म मनाउने भनएको छ। प्रदेश ३ को सरकारले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरेर भव्यताका साथ संविधान दिवस मनाउन लागेको हो।
मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मूल समारोह समितिले संविधान दिवसको अवसरमा गरिने कार्यक्रमको खाका तयार पारेको छ। जस अनुसार २ असोजमा नगर सरफाइ, खुला दौड, विचार गोष्ठी कार्यक्रम राखिएको जनाएको छ।
३ गते बिगुल बजाउनुका साथै तोप र बन्दुक पड्काएर बढाइँ गर्ने कार्यक्रम तय गरिएको छ। मठमन्दिर, गुम्बा र चर्चमा शहीदको आत्माको चीर शान्तिका लागि पूजापाठ गरिनेछ। विहान ७ बजे सीमा चोकबाट सुरु भएको परेडसहितको र्याली मकवानपुर बहुमुखी क्याम्पसको मञ्चमा पुगेर कार्यक्रममा परिणत हुनेछ।
४ असोजमा सार्वजनिक स्थानमा वृक्षारोपण, रक्तदान जस्ता कार्यक्रमहरु राखिएको छ। तीनै दिन सरकारी कार्यालय, उद्योग प्रतिष्ठान, शैक्षिक संस्था, सामाजिक संस्थाहरुमा दीपावली अनिवार्य गरिएको छ भने सर्वसाधारणलाई पनि घरघरमा दीपावली गर्न समितिले आह्वान गरेको छ।
प्रदेश सरकारले जनताले अपनत्व लिने गरी संविधान दिवस मनाउन सबै स्थानीय तहमा सर्कुलर समते गरिएको प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए।



लाेकपाटी न्यूज

