काठमाडौं, १ असोज। संघीय संसद भवनको बुधबार शिलान्यास गरिएको छ। बुधबार प्रधानमन्त्री ओलीले सो भवनको शिलान्यास गरेका हुन्।
सिंहदरबारस्थित पुतली बगैँचामा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो। १ सय ७३ रोपनी क्षेत्रमा फैलने भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। दुई मुख्य हलसँगै संघीय संसद सचिवालय, दलका कार्यालय, संसदीय समिति समेत भवनमा रहनेछ।
हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद सञ्चालन हुँदै आएको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले वार्षिक १५ करोड भाडा तिर्ने गरेको छ।
संघीय संसद सचिवालय भने सिंहदरबारमा रहेको छ। सिंहदरबारस्थित पुरानो प्रतिनिधिसभा भवन सार्क सम्मेलनका बेला मर्मत सम्भार गरिए पनि भूकम्पपछि जीर्ण अवस्थामा छ। नयाँ भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको तयारी छ।



लाेकपाटी न्यूज

