अमेरिकाको क्यालिफोर्नियाकी एक महिलाले आफ्नो इनगेज्मेन्ट रिङ्ग निलेकी छन्। जेना इभान्स नाम गरेकी ती महिलाले सपनामा आफूले इनगेजमेन्ट रिङ्ग निलेको देखेकी थिइन्।
तर त्यो सपना मात्रै रहेन, उनले वास्तवमै सपनासँगै विपनामा पनि औँठी निलेकी हुन्। गएको मंगलबार राति उनले सपना देखेकी थिइन्। उनी तीव्र गतिको रेलमा थिइन्, साथमा थिए उनका हुनेवाला श्रीमान। केही खराब नियत भएका व्यक्तिहरुले उनीहरुको पिछा गरे।
जेनालाई आफ्नो औँलामा रहेको २.४ क्यारेट हिराको औँठी जोगाउन हम्मे पर्यो। उनले त्यसका लागि औँठी निलिन्, किनकी त्यो औँठी उनलाई प्रेमीले लगाइदिएका थिए।
बुधबार बिहान जेना उठिन्। तीव्र गतिको रेल, खराब नियत भएका व्यक्तिहरुले गरेको पिछा सबै मिथ्या वा सपना मात्रै रहेछ। तर औँठी निलेको कुरा चाहिँ सपना मात्रै रहेन। उनले आफ्नो औँलामा औँठी नदेखेपछि खोजिन्, कतै भेटिनन्।
त्यसपछि शंका लाग्यो। अस्पतालमा गएर इन्डोस्कपी गर्दा उनको पेटमा औँठी देखियो। सपनामा देखेको जस्तै उनले वास्तवमै औँठी निलेकी रहिछन्।
जेना विगतमा निदाएका बेला हिँड्ने गरेकी पनि थिइन्। जेनाका प्रेमी बबी हावेलले उनलाई बिहीबार पुनः औँठी लगाइदिए। जेनाले निलेको औँठी प्राकृतिक रुपमै बाहिर निकालिएको हो।



लाेकपाटी न्यूज

