विकासको ५० वर्षे योजना तयार गर्नुपर्छ : डा. देवकोटा

Dr. Dinesh Chandra Devkota
लाेकपाटी न्यूज

काठमाडौँ, २९ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी सङ्गठनका संयोजक दिनेशचन्द्र देवकोटाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)ले नेपालको विकास र समृद्धिमा एक ठुलो अवसर हुने बताएका छन्।

नेपाल बुद्धिजीवी सङ्गठनले आज काठमाडौँमा आयोजना गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विषयक विचार गोष्ठीमा उनले सो कुरा बताएका हुन्। उनले नेपालको विकासका लागि रणनीति बनाएर लाग्नु पर्ने बताएका छन्।

नेतृत्वले पार्टी भन्दा माथि उठेर विकासका ५० वर्षे दूरदर्शी रणनीतिहरू तयार पारेर अघि बढ्नु पर्ने बताए। उनले भने,’नेपाललाई बीआरआईसँग जोड्ने कुरा छ। यो एक ठुलो सम्भावनाको विषय हो। यस अन्तर्गत हामीले रणनीतिहरु तयार गरेर काम गर्नुपर्छ। नेतृत्वले यस विषयलाई व्यापक बनाउन सके बीआरआई नेपालको विकासका लागि कोशे ढुङ्गा हुन सक्छ।’

बीआरआईले कनेक्टिभिटीलाई प्राथमिकता दिएकोले नेपाल जस्तो देशलाई फाइदा पुग्ने उनको भनाइ छ। कनेक्टिभिटीले नेपालमा लगानीको वातावरण सिर्जना गर्ने सक्ने तर्फ उनले इङ्गित गरेका छन्। उनले भने, ‘ बीआरआईपछि नेपालमा लगानीको लागि विदेशी लगानीकर्तालाई आश्वस्त पार्नसक्छ। यसको लागि नेतृत्वले नेतृत्व लिन सक्नुपर्छ।’