काठमाडौं, २७ भदौ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका संगठन सुदृढीकरण अभियानकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत नेतृत्वको विरुद्धमा जथाभावी टिप्पणी नगर्न नेविसंघका विद्यार्थीहरुलाई आग्रह गरेका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघ सुदृढीकरण अभियानकर्ताहरुले यस्तो आग्रह गरेका हुन्। नेविसंघका नेता तथा परराष्ट्र मामिलाका जानकार डम्बर सुनारले पार्टी नेतृत्वको विरुद्धमा अनावश्यक जथाभावी टिप्पणी गर्न नहुने बताए।
उनले भने, ‘पार्टी नेतृत्वहरुको त्याग, बलिदान र समर्पणका कारण आज देशमा प्रजातन्त्र जिउँदो छ, हामीले हाम्रा अभिभावकहरुको सम्मान गर्नुपर्छ। यदि पार्टी नेतृत्वले केही कमिकमजोरी गरेको नै भएपनि पार्टीभित्र सही सुझाव दिन सकिन्छ, तर मिडियामा हल्ला गरेर र ठूलो स्वरमा बोलेर होईन। यसले राम्रो सन्देश जाँदैन्।’ सुनारले युवाहरुको भावनालाई समेट्ने पार्टी नेतृत्व सक्षम रहेको विश्वास दिलाए।
उनले पार्टी नेतृत्वलाई गाली गरेर कसैलाई पनि फाईदा नहुने जिकिर गरे। उनले थपे, ‘सभापतिलगायत अहिलेको हाम्रो पार्टी नेतृत्व पँक्ती विद्यार्थी आन्दोलनबाटै आउनुभएको हो, उहाँहरुले त्यही धरातलबाट आएर मुलुकको बागडोर सम्हालिसक्नुभएको छ। त्यसैले उहाँहरुले नेविसंघका मर्म र भावनालाई राम्रोसँग बुझ्नुभएको छ । उहाँहरुभन्दा अरुले हाम्रो भावनालाई बुझ्न सक्नुहुन्न। त्यसैले उहाँहरुको बारेमा जथाभावी टिप्पणी गर्नु हुँदैन् ।’ पार्टी सभापतिविरुद्ध जथाभावी बोल्ने झुण्डलाई कारबाही गर्नुपर्ने माग गरे ।
सुनारले वर्तमान सरकार दुई तिहाईको दम्भ देखाउँदै अराजकतातर्फ उन्मुख रहेको आरोप लगाए। सरकारले आफ्नो व्यवहार र शैली तत्काल परिवर्तन नगरे आफूहरु सरकारविरुद्ध कडा संघर्षमा उत्रिने उनले चेतावनी दिए। उनले बाँके कांग्रेस सभापति किरण कोइरालामाथि सत्तारुढ दल नेकपाका कार्यकर्ताले गरेको आक्रमणको कडा निन्दा गरे।
त्यस्तै, नेविसंघकी निवर्तमान केन्दीय सदस्य सम्झना खत्रीले नेविसंघभित्र गुट हुनुहुँदैन भनेर ठूलो स्वरमा बोल्नेहरुले नै अहिलेपनि गुटको राजनीति गरिरहेको आरोप लगाइन्। उनले भनिन्, ‘नेविसंघमा जो गुट हुनुहुँदैन् भनेर बोलिरहेको छन्, आज उनीहरुले नै व्यवहारमा गुटको राजनीति गरिरहेका छन्।’
उनले नेविसंघ युवाहरुको काँधमै सुम्पिनुपर्ने बताइन्। उनकाअनुसार नेविसंघमा उमेर हद ३२ वर्ष कायम गरिनुपर्छ। उनले भनिन्, ‘३२ वर्षे उमेर हद कायम गरेर योग्य र सक्षम नेतृत्व ल्याउनुपर्छ।’ त्यस्तै उनले भागबण्डाबाट मात्रै सबै कुरा प्राप्त गर्न खोज्ने झुण्डहरुले नै सभापति देउवालगायतका नेतृत्वविरुद्ध नकारात्मक कुरा बोल्ने गरेको गुनासो पोखिन्। उनले भनिन्, ‘निर्वाचित पार्टी सभापतिविरुद्ध जभाभावी बोल्नेलाई पार्टीले अनुशासनको कारबाही गर्नुपर्छ। भागबण्डाको नाममा समानान्तर कमिटी चलाउने प्रवृत्ति गलत हो ।’
नेविसंघका अर्का नेता लोकेश आचार्यले पार्टी सभापतिविरुद्ध बोल्ने नेविसंघका नेताहरुलाई झुण्ड र अराजक समूहको संज्ञा दिएका छन्। उनले सभापतिविरुद्ध जथाभावी बोल्नेविरुद्ध आफूहरु जाइलाग्ने चेतावनी दिए। उनले भने, ‘हामी ती झुण्ड समूहलाई ईटको जवाफ पत्थरले दिन्छौं । हलो अड्काउने गोरु चुट्ने काम नगरौं ।’
डबल फायर खोलेर पार्टी सभापतिलाई तर्साउँछु भनेर दिवा सपना नदेख्नपनि उनले चेतावनी दिए। नेविसंघका अर्का नेता आदर्श मल्लले नेविसंघका सबै नेता तथा कार्यकर्ताहरुलाई अनुशासनको दायराभित्र रहन आग्रह गरे। उनले सभापतिविरुद्ध जथाभावी बोल्ने समूहलाई कुहिएको आलुको संज्ञा दिए। उनले भने, ‘कुहिएको आलुलाई फाल्नेभन्दापनि किटनाषक औषधी हालेर नष्ट गर्नुपर्छ । हामी त्यसो गर्नपनि तयार छौं ।’



लाेकपाटी न्यूज

