– रामचन्द्र शर्मा
भगवान् बुद्ध भन्नुहुन्छ – आवश्यकताभन्दा बढी, नियमभन्दा बाहिर र कर्मभन्दा बाहेक प्राप्त हुने सम्पूर्ण चीजहरु विष समान हुन्। चाहे भोजन, धन, दौलत, ऐस–आराम इत्यादि। अन्ततः यी चीजहरुले स्वयंका लागि नकारात्मक भूमिका खेल्ने गर्दछन्। नेपाली समाज लामो कालखण्ड गुजार्दै शान्ति, अमनचयन र प्रगतिको चाहना राखेको छ। तर, प्राप्त गर्ने कुरामा गम्भीर भुलभुलैयामा फसेको देखिन्छ।
आजको दिनमा नेपाली समाज पैसा बाहेक अरु सबै कुरा भ्रम हुन् जस्तो गरी पैसा प्राप्त गर्न आशक्त भएको छ। पैसा धन कमाउनु एकदमै राम्रो कुरा हो। तर, त्यो बाटो कसरी बनाउने महत्वपूर्ण कुरा हो। हो, हामीसँग देशमा रोजगारी छैन, काम गर्ने वातावरण छैन, श्रमको सम्मान छैन, देखावटी कुरा बाहेक सादगी जीवनको कुनै मूल्य छैन। यावत् कारणले गर्दा देशको बहुसंख्यक युवा जनशक्ति, बौद्धिक जनशक्ति अन्य मुलुकको गोटी बन्न बाध्य बनाइएको छ।
पैसा विनिमयको माध्यम हो, हिसाब किताबको इकाइ हो, अझ बिस्तारपूर्वक भन्नुपर्दा किफायती दोकान हो। यसको अर्थ हुन्छ किफायती विनिमयको हिसाब राख्ने साधन। कल्पना, ज्ञान, समय, सम्बन्ध, स्वास्थ्य र खुशीको सुन्दर समिश्रणबाट पैसाको सिर्जना हुने गर्दछ। यसलाई गम्भीर ढंगले बुझ्ने प्रयास गर्ने हो भने सारा प्रश्नहरुको उत्तर मिल्न सक्छ। पैसा स्वयंले केही काम गर्न सक्दैन, यो त केवल विचार र योजनाबाट परिचालित हुन्छ।
पैसा एक साधन हो। यसले दैनिकी व्यवस्थापन र योजना संस्थागत गर्ने महत्वपूर्ण भूमिका खेल्दछ। पैसा साध्य होइन, जीवनमा ७ चीज उत्तिकै आवश्यक छन् :– कल्पना, समय, ज्ञान, सम्बन्ध, स्वास्थ्य, खुशी र पैसा। ती सातै पक्ष मिलेर एक सुचालकको जन्म दिने कार्य गर्दछन्, त्यो हो पैसा।
नेपाली मनोविज्ञान पूँजीवादी चरण प्रवेशको गम्भीर संक्रमण कालमा छ। यो अवस्थामा जसरी पनि पैसा प्राप्तिको आशक्ति बाहेक केही पनि देख्दैन। जुन आज नेपाली समाजमा प्रष्ट अवलोकन गर्न सकिन्छ। यसलाई समाजमा गम्भीर भड्कावको रुपमा विश्लेषण गर्नु पर्दछ।
किन छ पैसाको आशक्तिमा नेपाली समाज ?
आज विश्व भूमण्डलीकरणको अवस्थामा छ। चाहे विकसित देश हुन्, चाहे अविकसित एवं विकासोन्मुख देश नै किन नहुन्, विकसित देशहरुले पूँजीवादको अभ्यास गरी गम्भीर शिक्षा बोकेर अर्काे संक्रमणको बाटो खोजिरहेका छन्। त्यहाँको चेतना स्तर नयाँ ढंगले विकसित हुँदै जाँदा सूचना प्रविधिले दुनियाँलाई खल्तीमा देख्न सक्ने बनाएको छ। यस्तो विकसित र लोभ लाग्दो दुनियाँको तस्वीर आफ्नो अगाडी देख्न पाउँदा यसको उपभोग र अनुभव लिन कसको मनले इच्छा जाहेर नगर्ला र !
झन् हाम्रो जस्तो विकासोन्मुख समाज यस्ता कुराबाट छिटो प्रभावित हुनु स्वभाविक पनि छ। यसका कारण पैसाप्रति आशक्ति झनै बढ्दै गएको छ। नेपाली समाज पूर्णतः भावना र देखावटी आवरण चीजको मात्र विश्वास गर्ने गम्भीर मनोवृत्तिमा उभिएको छ। यतिसम्म कि ७ जना व्यक्तिहरु भएको ठाउँमा चिया आयो भने ३ वटा हार्ड कप र ४ वटा सामान्य कपमा छ भने हाम्रो लडाइ ३ वटा हार्ड कपका लागि हुने गर्दछ। तर, हामीले चिया एउटै हो भन्ने कुरा बिर्सिन्छौं।
पूँजीवादी संक्रमणको चरणमा प्रवेश गर्न लागेको वर्गलाई निम्न पूँजीपति वर्ग र त्यसले बोक्ने जड विचारलाई निम्न पूँजीवादी चिन्तन भनिने गर्दछ। आज पैसाप्रतिको जबर्जस्त आशक्ति बढ्नु यही चिन्तनको उपज हो। हरेक गतिविधिलाई व्यवसायिक रुप दिने संक्रमणमा समाज समेत छ। यो अवस्थामा समेत व्यवसायिक मान्यता र सिद्धान्तहरु बुझ्न नसकी अर्धज्ञानको आवरणमा पैसालाई व्यवसायको रुपमा बुझ्दा पैसाको आशक्ति अझ बढेको छ।
पैसा नै सबथोक हो ठानी जसरी पनि पैसा कमाउनै पर्छ भन्ने वैचारिक स्खलनमा राजनीतिक अभियान्ता र सामाजिक अभियान्ता परेका छन्। देशमा भ्रष्टाचार नहुने कुन क्षेत्र, कुन व्यक्ति होला ? सायद बत्ती बालेर खोज्नुपर्ने भएको छ। सरकारी अड्डाहरु त गैरकानूनी पैसा उत्पादन गर्ने फ्याक्ट्री र तालिम केन्द्रको रुपमा खुलेआम सर्वसाधारणलाई प्रस्तुत गरिरहेका छन्। रातारात चोर बाटोबाट भए पनि सबैमा धनी बन्ने लालसा र होडबाजी चलेको छ।
पैसाका लागि धर्म, संस्कृति, सभ्यता, मानवता, नैतिकता र मानवीय अंगहरुको समेत व्यापार गर्न तयार भएको गम्भीर अवस्था हाम्रो अगाडि छ। यो समय उदाहरणीय व्यवहारिक नेतृत्वको अभाव खड्किइरहेको छ। आज पैसाको आशक्ति सबैभन्दा बढी उच्च पदस्थ अधिकारीहरु, राजनीतिक नेताहरु र सरकारका जिम्मेवार व्यक्तिहरु जसरी हुन्छ। सके नीतिगत भ्रष्टाचार, राज्यको दोहन, नसके अदृश्य रुपमा घुस एवं अनैतिक श्रोतबाट पैसा आर्जन गर्ने र शक्तिमा पुग्ने तीव्र आशक्ति छ। यसको सिको आम मानिसहरुले गरेका छन्।
जिम्मेवार मान्छेहरुको यो चाला देखेर सबैको मन मस्तिष्कमा पैसा त सब चीजको ओखती रहेछ भन्ने छाप परिसकेको अवस्था छ। एकाधबाहेक सबैजसो अधिकारी र नेताहरुमा त्याग र निष्ठाको भावना मरेको हो कि भन्ने भान परेको छ। यसले समाजलाई गम्भीर भड्कावमा लैजादै छ। नेपालमा चुनाव लड्न पैसा नभएको मान्छेले सक्दै सक्दैन। पैसा खोजेर चुनाव लड्न त्यो खर्च उठाउन फेरि नाजायज ढंगबाट आपूmलाई उभ्याउन बाध्य हुनुपर्ने अवस्था छ।
नेपाली राजनीति जनसम्बन्धको बलमा होइन, पैसाको बलमा सबथोक गर्न सकिन्छ भन्ने भड्कावमा गइसकेको छ। यसको सिधा असर जनतामा परेको छ। पैसाकै कारण सम्बन्ध, संस्कृति, भातृत्व, मानवीयता र नैतिकता सब लिलामीको वस्तु बनेको अवस्थाले गर्दा नेपाली समाज पैसाको आशक्तिमा फस्दै पैसाको गुलाम बनिरहने अवस्थामा पुगेको छ। पैसाप्रतिको आशक्ति बढ्नुको कारक तत्व यिनीहरु नै हुन्। आशक्तिले समाजलाई विकृत रुपमा हत्या, हिंसा, बलात्कार र गैह्रकानुनी बाटोमा हिडाउनु बाहेक केही पनि दिन सक्दैन।
पैसाको आवश्यकता किन ?
मानवीय सभ्यताको थप विकास गर्नका लागि पैसा अनिवार्य वस्तु हो। यसलाई प्राप्त गर्ने आफ्नै नियम छन्। नियमद्वारा आर्जन गर्ने धन पैसा हो। व्यवहारिक रुपमा हाम्रो जीवन चलाउन पैसा अनिवार्य हुन आउँछ। कर्मद्वारा आर्जन गरेको पैसाको बलमा चलाउने जीवन सभ्यता हो। पैसा आवश्यकता र विलासिता एवं शोखको आधारमा प्रयोगमा आउने गर्दछ। विलासिता र शोखको आधारमा पैसालाई अनाधिकृत रुपमा प्रयोग गर्न खोज्दा भ्रष्टाचार, घुसखोरी र तस्करी बढेर सामाजिक भावनामा गम्भीर ठेस पुर्याएको छ।
नियम र कर्मभन्दा बाहिर अनैतिक ढंगबाट पैसा कमाउने आशक्ति राख्नु स्वयंका लागि मसानघाटको चितासरह हो। बाहिर देख्ने कुरा त खाली “रोवट”जस्ता मात्र हुन्, कुन बेला अपरेटरले बत्ती सर्ट गर्छ, कुनै पत्तो हुँदैन। आशक्ति होइन, आशातित होऔं, आज हामीलाई एउटा सिस्टम चाहिएको छ, त्यही सिस्टम बनाऔं। निरन्तर काम, कर्म र त्यसबाट आर्जन गरेर हेरौं त, सिस्टम धनी हुन्छ कि भ्रष्टाचारी ? आशक्ति कि आशातित् ? संसारका धनी मान्छेहरु भ्रष्टाचार, घुसखोरी र तस्करी गरेर लामो समय आफ्नो पहिचान बनाएका होइनन्।
वृहत्तर सिस्टमको बलमा सदावहार ती मान्छेहरु संसारमा चिनिएका छन्। मोह र आशक्तिले सधैं दुःख मात्र दिने गर्दछ। तर, निष्ठा र कर्मले सधैं सिस्टम दिने कार्य गरिरहन्छ। यसले रमाइलो गरेर तपाईको अगाडि पैसा दिने काम गर्दछ। व्यवसायिक, उद्यमशिलताको सोच र प्रतिस्पर्धी क्षमताको विकास गराउन काम गर्दछ। लेखक पैसा कमाउने कुराको विरोध गर्दैन। तर, पैसाको आशक्तिको भत्र्सना गर्दछ।
निष्कर्ष :
सिस्टम विनाको पैसा, लगाम विनाको घोडाजस्तै हो। कुन बेला भीरबाट खसालिन्छौं, पत्तै पाइँदैन। आज सिस्टममा बसौं, पैसाको सामर्थ्यलाई चिनौं, मितव्ययी होऔं। बचत रकमलाई पूर्ण सिस्टममा लगाऔं। निरन्तर काम गरौं, सिस्टमलाई समय सापेक्ष अपडेट गरेर ५ वर्ष मात्र हेरौं त पैसाले हामीलाई कसरी खोज्छ ?
हाम्रो विकासका लागि पैसा अनिवार्य साधन हो। साध्य त कल्पना, समय, ज्ञान, स्वास्थ्य, खुशी, सम्बन्ध र पैसाको गठजोडबाट हामीले पैदा गर्ने विचार हो। सबै क्षेत्रको विकासको श्रोत विचार हो। सबैले “विचारलाई अंगालौं आशक्तिलाई त्यागौं”। विचारले हामीलाई धनी बनाउँछ, आशक्तिले सधैं गुलाम, फेरि गुलाम, निरन्तर गुलाम बनाउनेबाहेक केही काम गर्दैन। त्यसैले भ्रष्टाचार होइन, सुशासनको लागि आफ्नो सिस्टम बनाउनतिर लागौं।
पैसाले पैसाभन्दा पनि बढी विचार कमाउने गर्दछ। गलत पैसाले गलत विचार, स्वस्थ पैसाले सुसंगत विचार यही उद्यम हो, पूँजी हो, सभ्यता हो, देशको उन्नति र विकासका लागि क्रान्तिकारी कदम हो, यो पैसाको आशक्तिले भाँडिएको नेपाली मनको अचुक औषधि पनि हो, अस्तु !



लाेकपाटी न्यूज

