कांग्रेसले बिपीको मर्म बुझ्न सकेन : नेता पौडेल

Ramchandra-Poudel
रासस न्यूज

तनहुँ, २५ भदौ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताएका छन्। राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेस तनहुँले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताएका हुन्।

‘बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर कांग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,’ वरिष्ठ नेता पौडेलले भने, ‘बिपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ। ’उनले बिपी जनताको शासनका पक्षमा रहे पनि कम्युनिष्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाए।

बिपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो। निमुखालाई न्याय र विपन्नलाई आय कांग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उनले गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्नेमा जोड दिए।