काठमाडौं, २४ भदौ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले संघीय संसद अर्थ समितिका सभापती कृष्ण प्रसाद दाहालसँग भेट गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन– २०५२ लाई शंसोधन गर्न बनेको विधेयक माथि हालै सुझाव दिएको छ।
राजश्व चुहावट नियन्त्रण गर्न कठोर ऐन प्रस्तावित भएको बताउँदै अध्यक्ष श्रेष्ठले आर्थिक अपराधमा आर्थिक जरीवाना मात्र हुनुपर्नेमा भुलबस हुन जाने अवस्थामा समेत कैद सजायको व्यवस्थाले नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण समाप्त गर्ने नै हो भन्ने व्यवसायीहरुको निक्र्यौल रहेको बताएका छन्।
अध्यक्ष श्रेष्ठले सुझाव दिने क्रममा विद्यमान विधेयकले आगामी दिनमा सुराकी प्रणाली व्यवसायको रुपमा विकास हुने, थुनामा राख्ने प्रावधान खारेज गरिनु पर्ने, बिगोको परिभाषामा थप दस्तुर, ब्याज जरिवाना रकम उल्लेख हुनु सान्दर्भिक नभएको, घर बहाल कर स्थानीय निकायको दायरामा परेको, नियतको ठाउँमा जानीजानी शब्द राखिनु पर्ने, कर्मचारी अधिकृतस्तरको हुनुपर्ने, राजश्व चुहावटको छानविनको सिलसिलामा बैंक खाता तथा सम्पत्ति रोक्का राख्नु पर्ने भएमा अदालतको आदेशमा मात्र गर्नुपर्ने लगायतका विषयवस्तु राखे।
उनले राजश्व अनुसन्धानको सिलसिलामा कसैको घर, गोदाम, पसल, कार्यालय, कलकारखाना, उद्योग, वाहन आदि शिलवन्दी गर्नु पर्ने भएमा बढीमा ४८ घण्टा भन्दा बढी गर्न नहुने, राजश्व समेतको छानविनको कार्य शिघ्र गरी शिलवन्दी खोली दिनुपर्ने, राजश्वको छानविन गर्ने समय सीमा ३५ दिनको हुनुपर्ने, महिनौं बषौंसम्म तारिखमा राख्न नहुने बताए।
पचास लाख रुपैयाँ सम्मको विगोमा ६ महिनासम्म कैदको प्रावधान प्रस्ताव गरिएकोमा उक्त कैदको प्रावधान नै खारेज गरिनुपर्ने, जरीवानाको शुरुवाती रु. पचास हजार भएकोमा सो सान्दर्भिक नभएको, दशहजारको राजश्व छलि भएका पनि पचास हजार रुपैया जरीवाना हुन नहुने, जरिवाना विगो वमोजिम हुनुपर्ने, राजश्वको सामन बरामद गर्दा वा छानविन गर्दा बरामद सामनको मूल्याङ्कन सम्बन्धित मूल्याङ्कन गर्ने निकायमार्फत् गरिनुपर्ने, राजश्व अनुसन्धान विभागले मूल्याङ्कन थप गर्न नहुने, मूल्याङ्कन गर्दा मालधनीको सहमती नभएमा मालको मूल्यमा भाडा तथा बीमा रकम समेत थप गरी उक्त माल खरिद गर्नु पर्नेमा चेम्बर अध्यक्ष श्रेष्ठले जोड दिए।
सो अवसरमा बोल्दै संघीय संसद अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले चेम्बर एक सशक्त संस्था भएको हुँदा चेम्बरबाट दिइएको सुझावहरुलाई सम्बोधन गर्न आफ्नो प्रयास रहने बताए। उक्त अवसरमा चेम्बरका पदाधिकारीहरु, विभिन्न समितिका अध्यक्षहरु तथा उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।



लाेकपाटी न्यूज
