काठमाडौं, २३ भदौ। तीन दिने नेपाल भ्रमणका लागि आइतवार साँझ नेपाल आएका चीनका विदेशमन्त्री वाङ यी आज(सोमबार) दिनभर व्यस्त रहने कार्यतालिका रहेको छ।
वाङले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित शीर्ष नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ।
यस्तो छ कार्यतालिका ?
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन्। उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ। पाकिस्तानको भ्रमणबाट वाङ काठमाडौं आएका हुन्।
सोमबार दिउँसो ३ः३० बजे होटल याक एण्ड यतीमा नेपाल चीन बार्ता हुनेछ। उक्त वार्तामा केहि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम छ। आज साँझ ५ बजेदेखि ५ः४५ बजेसम्म विदेशमन्त्रि वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भेटघाटको कार्यक्रम बालुवाटारमा हुनेछ ।
सोमबार साँझ ६ बजेपछि विदेशमन्त्री वाङको टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी यीको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। रात्रिभोजमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, दुवैतर्फका कूटनीतिक नियोगका प्रमूखहरूसहितका अधिकारी सहभागी हुनेछन्।
भदौं २४ गते, मंगलबार ९ः०० बजे वाङको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम तय भएको छ। मंगलबार नै विदेशमन्त्री वाङको टोलीले प्रमूख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई निवासमा भेट्ने कार्यक्रम छ । भेटको समय ११ः०० बजेको लागि मिलाइएको छ।
यस बाहेक विदेशमन्त्री वाङले केही राजनीतिक विश्लेषक र उद्योगी व्यबसायीसँग होटल सोल्टीमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। विदेशमन्त्री वाङको टोली मंगलबार १ बजे चीन फर्कने छ।



लाेकपाटी न्यूज

