‘पशुपतिमा राष्ट्रिय गान बज्दा मलामी गएका व्यक्तिले के गर्ने ?’

लाेकपाटी न्यूज

काठमाडौं, २२ भदाै। सरकारले पशुपतिनाथ मन्दिर परिसरमा आरतीको समयमा राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था गरेकाेमा सांसद भीमसेनदास प्रधानले आपत्ति जनाएका छन् ।

सांसद प्रधानले राष्ट्रिय गानकै अपमान हुने गरी पशुपतिनाथ मन्दिर परिसरमा आरतीको समयमा राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था गरिएको आरोप लगाए ।राष्ट्रिय गान गाउने आफ्नै परम्परा रहेकाले त्यसलाई सम्मान गर्नुपर्ने प्रधानको भनाइ छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत सहभागी हुने कार्यक्रममा अनिवार्य रुपमा राष्ट्रिय गान बजाउन र राजनीतिक दल तथा राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रममा अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनुपर्नेमा जोड दिँदै प्रधानले पशुपतिनाथ मन्दिर परिसरमा नै राष्ट्रिय गान बजाउने निर्णय धर्म र संस्कृति विरोधी भएको जिकिर गरे । उनले भने, ‘किरिया बसेका र मलामी गएकाले राष्ट्रिय गान बज्दा के गर्ने भन्ने प्रश्न उठेको छ । यसलाई सरकारले ध्यान दिनु जरुरी छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिने आरतीमा राष्ट्रिय गान बजाउने व्यवस्था गरिएको छ । चलचित्र भवनमा समेत राष्ट्रिय गान बजाउने भनेर सरकारले दिएको निर्देशनले ‘पञ्चायतकालिन झल्को’ आएको उनको टिप्पणी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्