काठमाडाैं, २२ भदाै। दसैंका लागि अग्रिम टिकट बुकिङ भदाैकाे अन्तिम साताबाट खुल्ने भएको छ। अग्रिम टिकट खुलाउने सम्बन्धमा यातायात व्यवसायी र यातायात व्यवस्थापन विभागबीच छलफल भइरहेको छ।
छलफल सकारात्मक रूपले अघि बढेकोले यही महिनाको अन्तिममा अग्रिम टिकट खुल्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए। उनले भने, ‘हामी २५–२६ गते व्यवसायीहरुसँग बैठक बस्छौँ र त्यस लगत्तै दसैंको लागि अग्रिम टिकट खुल्छ।’ व्यवसायीहरुले दसैंअघि नै वैज्ञानिक रुपमा भाडा समायोजन गर्नुपर्ने माग भने अघि सारेका छन्। यद्यपि यस मागमा उनीहरु लचक रहेको विभागको दाबी छ।
हमालले अगाडि भने, ‘यो वर्ष व्यवसायीहरु नम्र हुनुहुन्छ। उहाँहरुले अफ्नो समस्या राख्नु भएको छ र हामी त्यसको समाधान खोज्ने प्रयास गरिरहेका छौं । हामी भाडाको किचलो हटाउन वैज्ञानिक भाडादर निर्धारण गर्ने क्रममा छौं। त्यसो भयो भने बजार अनुसार भाडा बढ्ने र घट्ने हुन्छ।’
दसैंका बेला सवारीसाधन व्यवस्थापन गर्ने विषयमा व्यवसायीबीच आन्तरिक र विभागसँग समेत छलफल भइरहेकोले छिट्टै टिकट बुकिङ खुल्ला गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए। उनले भने, ‘टिकट खुलाउनु ठूलो कुरा होइन। यो वर्ष नयाँ गाडी नथपिएका कारण देशका कुना काप्चामा सेवा कसरी दिने भन्ने बारे छलफल भइरहेको छ।
विभागसँग हुने आगामी बैठकले अग्रिम टिकट खुलाउने विषयमा परामर्श हुने उनले जानकारी दिए। उनले भने, ‘हामीले वैज्ञानिक भाडाको लागि विभागलाई जिम्मा दिइसक्यौं, यो बारेमा अहिले बोल्दैनौं, व्यवस्थापन सहज बनाउने सन्दर्भमा विभागसँग छलफलमा छौं।’



लाेकपाटी न्यूज
