हाम्रै जीवनकालमा नेपालमा समाजवादको झण्डा गाड्छौं : प्रचण्ड

Prachanda chitwan
लाेकपाटी न्यूज

काठमाडौं, २२ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै जीवनकालमा नेपालमा समाजवाद स्थापना गरिछोड्ने प्रतिबद्धता जनाएका छन्। उनले सगरमाथाबाट समाजवादको नयाँ झन्डा फहराउँदै विश्वलाई नै नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने बताएका छन्।

डिपी ढकालद्वारा लिखित पुस्तक ‘पुँजीवादी र समाजवादी अर्थ राजनीतिक विकास क्रम’को सार्वजनिकीरण समारोहलाई सम्बोधन गर्दै उनले आम नेता कार्यकर्तालाई समेत समाजवादको बाटोमा लाग्न अपिल गरेका छन्। ‘तपाईं कुन कित्तामा हो ? म चैँ समाजवादी कित्तामा हो। म समाजवादी कित्तामा उभिन अपिल गर्न चाहन्छु,’ उनले भने, ‘नेपालबाट नयाँ समाजवादी मोडल दिन सक्छौँ। नेकपाका कार्यकर्ताबिचको ग्रेट डिबेटले नयाँ मोडल दिन सक्छ। हामीले हिम्मत हार्नु हुँदैन।’

नेपालमा नयाँ खालको समाजवादी मोडल प्रस्तुत गर्ने सन्दर्भमा अहिले बहस भइरहेको समेत उनले बताए। ‘नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने ग्रेट डिबेटमा हामी छौँ। अन्य देशले अवलम्बन गरेका मोडल हामी सजिलै भन्न छक्छौं। तर हामीले २१ औँ शताब्दीमा कस्तो मोडल प्रस्तुत गर्ने भन्ने कुराको बहसमा हामी छौँ। हामी दलाल पुँजी र नोकरशाही पुँजीवादका अघि आत्मसमर्पण गर्छौ वा समाजवादी कित्ता बनाउछौं ? लडाई यहीँ छ,’ उनले भने।