काठमाडौं, २२ भदौ। सरकारले संविधान दिवस र राष्ट्रिय दिवसहरूमा प्रयोग गरिने सरकारी टिसर्टको नमूना सार्वजनिक गरेको छ। गृह मन्त्रालयले शुक्रवार साँझ आफ्नो वेबसाईटमार्फत् चार प्रकारका टिसर्टहरू सार्वजनिक गरेको हो।
असोज ३ गते मनाइने संविधान दिवसका अवसरमा सबैतिर राष्ट्रिय झण्डाको व्यापक रुपमा प्रयोग गर्ने सरकारको योजना अनुसार यस्तो नमूना सार्वजनिक गरिएको अधिकारीहरूको भनाई छ।

संविधान दिवस मनाउनका लागि स्थानीय सरकार, सङ्घ-संस्था, निजीक्षेत्र र तल्लो तहका कार्यालयहरुबाट नमूना माग भएकाले सार्वजनिक गरिएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रामप्रसाद आचार्यले बताए।
आचार्यले भने: ‘झण्डालाई मुटुको माथि पार्नेगरि टिसर्टको नमुना बनाइएको र टिसर्टमा प्रयोग गरिएका घेरालाई राष्ट्रिय झन्डाको घेरासँग मिलाउन खोजिएको हो।’
नमूना टिसर्ट सबै सेता रङका छन्। तीनवटामा छेउछेउमा निलो घेरा राखिएको छ भने एउटा सम्पूर्ण रूपमा सेतो छ। यस्तो व्यवस्था सबैका लागि बाध्यकारी नभएको तर प्रयोग गर्दा यस्तो गर्नुपर्ने भनेर सार्वजनिक गरिएको गृह मन्त्रालयको भनाई छ।
यस वर्ष राष्ट्रिय झण्डालाई मुख्य आकर्षणको केन्द्र बनाएर संविधान दिवसका कार्यक्रमहरू तय गरिएका छन।




लाेकपाटी न्यूज

