तत्कालीन एमालेका सभासद कार्की पक्राउ

DB_Karki
लाेकपाटी न्यूज

काठमाडौं, १९ भदौ। तत्कालीन नेकपा एमाले पार्टीबाट संविधानसभा सदस्य (सभासद) रहेका डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बिहीबार बिहान पक्राउ गरेको हो।

घुस लिएको अभियोगमा सर्वोच्च अदालतले ६ महिना कैद र १ लाख जरिवानाको सजाय सुनाइएका कार्कीलाई बिहीबार बिहान काठमाडौंको सतुङ्गलबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ। कार्की पहिलो संविधानसभामा तत्कालीन नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य थिए। उनले नेपाल प्रहरीको निरीक्षक (इन्सपेक्टर) भर्ना गरिदिने भन्दै १ लाख रुपैयाँ घुस लिएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६७ फागुनमा कार्की र उनका सहयोगी स्वामी ब्रह्मानन्द उदासिनलाई प्रहरीको इन्सपेक्टर बनाइदिन्छु भन्दै पैसा असुलिरहेका बेला १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो। कार्की काठमाडौंको भिमसेनगोलास्थित आफ्नै घरबाट पक्राउ परेका थिए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध १ लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतले कार्कीविरुद्ध १ लाख रुपैयाँ जरिवाना र ६ महिना कैदको सजाय सुनाएको थियो। विशेषको फैसलाविरुद्ध कार्कीले सर्वोच्च अदालतमा पुनरावलोकन रिट दायर गरेका थिए। पछि सर्वोच्चले पनि विशेष अदालतकै फैसलालाई सदर गरेको थियो। घुस लिएको अभियोगमा स्याङ्जाका कार्कीलाई सर्वोच्च अदालतले गत असार २४ गते जेल सजायसहित जरिवानाको फैसला गरेको थियो। पक्राउपछि उनलाई अदालतमा उपस्थित गराइदै छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्