– रामचन्द्र शर्मा
काठमाडौं । देश लामो समयदेखि एउटा प्रवृत्तिका विरुद्ध निरन्तर लडाईं लड्दै आयो । परिणामतः आज यो शासन व्यवस्थाको अभ्यास गर्न पाएका छौं । भत्काउन जति सजिलो छ, पुनः नयाँ ढंगले निर्माण गर्न सयौं गुणा गाह्रो छ । प्रवृत्तिका विरुद्ध संघर्ष गर्दा विजयको हेक्का रहेन होला । त्यसैले संस्थागत व्यवस्थापन, योजना र गम्भिरता देखिएन । यसको कारण देश आज प्रसव पीडामा छट्पटाइरहेको छ ।
समयमा उपचार नहुने हो भने सायद विघटनको नक्सा कोर्ने अवस्था सिर्जना भएको छ । नेपाली समाज, राजनीतिक नेता हामी विज्ञानमा होइन भावनामा विश्वास गर्दछौं । भावना कहिल्यै पनि दीगो हुँदैन । क्षणिक समस्या सम्बोधनको आत्मरतिमा रमाउँदा हाम्रा कानून, नीति, अन्तर्राष्ट्रिय सन्धी र सम्झौता आत्मघाती बनिरहेका छन् । न्यायालय तिनै द्वयदर्थी कानून र सन्धी सम्झौताको व्याख्या गरेर अनुकुल र प्रतिकुलका फैसलाहरू सुनाइरहेको छ । त्यो स्वभाविक पनि छ, एनसिएलको पूँजीगत लाभकरको फण्डा त्यहीँनेर केन्द्रित छ । लेखक अदालतको निर्णयमा प्रश्न उठाउन भन्दा पनि त्यो झण्डै ६६ अर्ब रुपैयाँ जुन हामीले गुमाउँदैछौं । त्यसले नेपालको औद्योगिक नक्सा कसरी बदल्न सक्थ्यो भनेर विवेचना गर्न केन्द्रित छ ।
पूँजी के हो र कसरी काम गर्छ ?
वस्तु विनियम विकल्पको साधनको रूपमा मुद्राको उत्पत्ति भयो । वस्तुहरूको उत्पादन केन्द्र निर्माण गर्नको लागि मुद्रा–मुद्राहरू एक आपसमा गठबन्धन भई पूँजीको रूपमा आफूलाई स्थापित गरेका छन् । पूँजीको मान्यता जहिले पनि उत्पादन र पुनर्उत्पादनसँगै समाजको विकासमा योगदान पुर्याउनमा केन्द्रित हुन्छ । पूँजीले एक साधन एवम् सुचालकको रूपमा समाजको उत्पादक शक्तिको मुख्य प्राविधिक भूमिका खेल्ने कार्य गर्दछ ।
पूँजीको कार्य उत्पादन, उत्पादन मार्फत् पुनर्उत्पादन र निरन्तर उत्पादनको बाटोलाई अँगाल्दछ एवम् विश्वास गर्दछ । अन्ततः पूँजीको काम श्रम, प्रकृति र विचारसँग एकीकृत भई आफ्नो विकास गर्नु सिवाय केही पनि हैन । यही पूँजीको अन्तर्यलाई हामीले बुझ्ने र परिचालन गर्ने सामर्थ्य राख्नुपर्दछ । अन्यथा, हामी सधैँ गोलचक्करमा फस्ने गम्भिर खतरा रहन्छ ।
त्यो ६६ अर्ब, त्यसको वास्तविक शक्ति कति हो त ?
नेपालको औद्योगिक कारोबारको अभ्यास हेर्ने हो भने एउटा उद्योग स्थापना गर्नको लागि औसतमा ८०ः२० डेप्ट/इक्विटीको अनुपातमा लगानी रहेको छ । यसको मतलब के देखिन्छ भने त्यो ६६ अर्ब रुपैयाँसँग ३ खर्ब ३० अर्ब रुपैयाँको पूँजी निर्माण गर्ने सार्मथ्य रहेको हुन्छ । यो पूँजी नेपालको कुल बजेटको झण्डै २२% हिस्सा हो । यो पूँजीमा ईच्छुक प्रबर्द्धकहरूलाई लगानीको लागि आह्वान गर्ने हो भने यसको आंकडा अझ बृद्धि हुन जान्छ ।
त्यो पूँजीलाई लगानी गरी हेर्दा देशमा २५ वटा केन्द्र र आवश्यकतानुसार उपकेन्द्रहरू बनाई पर्यटन क्षेत्रमा लगानी केन्द्रित गरेर एक पटक हेरौं । अन्तर्राष्ट्रिय विख्यात पर्यटन आर्किटेकहरूको समिट नेपालमा आयोजना गरौं । सिङ्गो देशलाई निर्माण स्थलको रूपमा केन्द्रमा राखेर गम्भिर विचार विमर्श र योजना बनाउने गरी आर्किटेकहरूसँग करार गरेर अगाडि बढ्न सक्छौं । आर्किटेकको वैज्ञानिक, कलात्मक डिजाइन र परामर्शमा पर्यटन पूर्वाधारको क्षेत्रमा यो पूँजीगत लगानीलाई केन्द्रित गर्न सकिन्छ । देशको आत्मनिर्भरता र सम्भावना बोकेको क्षेत्र पर्यटन हो ।
यसको प्रवर्द्धन र सम्वर्द्धनको लागि बृहत्तर पूर्वाधार बिना असम्भव प्रायः छ । यसै कारण पर्यटन क्षेत्रमा पूँजीलाई केन्द्रित गरी यस आलेखमा विवेचना गरिएको छ । सारांशमा पर्यटकहरू आर्कषण गर्नका लागि पर्यटन क्षेत्रको विविधीकरण गरी हाई अल्टीट्यूट भर्जिन सिटी, अर्गानिक सिटी, वाटर लेक सिटी, हन्टिङ्ग जोन, स्मार्ट भिलेज र धार्मिक सर्किटहरूको फ्रेमवर्कमा राखेर यो क्षेत्रमा लगानी गर्न सकिन्छ ।
पूर्वमा इलाम, पाथीभरा, हलेसी महादेव लगायतको क्षेत्रलाई धार्मिक सर्किटको रूपमा निर्माण गर्ने, यसलाई आधुनिक रोपवेसँग समायोजन गरी केवलकार, जीप फ्लायर, फनिकुलर र अन्य एडभेन्चरका साधनहरू जोडी एउटा पर्यटन केन्द्र बनाउने, यसलाई सहयोग पुर्याउन सक्ने गरी विभिन्न उपकेन्द्रहरूमा पूर्वाधारहरू बनाउने, दोलखा सोलुखुम्बु क्षेत्र सगरमाथा पर्यटन सर्किट, यसमा रोपवेहरु र शिकार क्षेत्र समावेश गरी एक केन्द्र र अन्य पर्यटकीय सहायक उपकेन्द्रहरू निर्माण गर्ने, काठमाडौं–सिन्धुपाल्चोक क्षेत्र भर्जिन सिटी, जसलाई नेपाली परम्पराअनुसार डिजाइन गर्ने र रोपवे मार्फत् एक्सिस दिने गरी तयार गर्ने, पूर्वी मधेश क्षेत्र कृत्रिम विशाल तलाउ निर्माण गरी आधुनिक कलात्मक डिजाइनमा लेकसिटी बनाउने, सिटी घुम्नको लागि डुंगाको एक्सिस दिने र पर्यटन प्रवद्र्धन गर्ने, मध्य तराई कृषि पर्यटन र जल यातायातको केन्द्र बनाउने, नवलपरासी बुटवल क्षेत्र लुम्बिनी सर्किट र ऐतिहासिक सांस्कृतिक नेपालको प्रहसन गर्न सक्ने गरी पूर्वाधार बनाउने, पश्चिम तराई क्षेत्रमा एग्रो टुरिज्मका पूर्वाधारहरू बनाउने, पश्चिमी पहाडी जिल्ला धार्मिक, जैविक र साहसिक पर्यटन केन्द्र बनाउने जसलाई रोपवेसँग एक्सिस दिने ।
त्यसैगरी जाजरकोट, कालीकोट, डोल्पा क्षेत्रलाई स्मार्ट स्टे, भर्जिन सिटी, हन्टिङ्ग जोन, धार्मिक क्षेत्रका पूर्वाधार निर्माण गरी रोपवेको एक्सिस दिने, गण्डकी क्षेत्रमा सबै प्रकारका पर्यटनका पूर्वाधारहरूलाई एकीकृत गरी हाई अल्टिट्यूट सिटी र पर्यटन पूर्वाधारसँग धार्मिक सर्किटहरू बनाई फुट ट्रयाक र रोपवेको एक्सिस दिई कलात्मक पर्यटन केन्द्रको रूपमा विकास गर्ने र सबै केन्द्रहरूको आसपास विविध उपकेन्द्रहरूका पर्यटन पूर्वाधारहरू बनाउने । यसरी लगानी केन्द्रित गर्दा झण्डै ४ खर्ब ५ अर्ब लगानी लाग्ने अनुमान गर्न सकिन्छ ।
यो लगानीको लागि इक्विटी ६६ अर्ब एनसिएल फण्डा र प्रबर्द्धक शेयर २४ अर्ब सरकारी तथा निजी लगानीकर्ताहरूबाट लगानी गरी ९० अर्ब रुपैयाँ चुक्ता पूँजी भएको नेपाल सरकारको होल्डिङ्ग कम्पनीको “पर्यटन पूर्वाधार विकास कम्पनी लि.” बनाउन सकिन्छ । यसलाई विशेष कानून बनाएर एक प्राधिकरणको रूपमा विकास गरी ५ वर्षे रणनीतिक कार्यसम्पन्न योजना बनाई निर्माणमा लाग्ने र सञ्चालनमा ल्याउन सक्ने हो भने ३० वर्षभित्र देशको आर्थिक नक्सा यस्तो बन्न सक्छ ।
राज्यलाई प्रतिवर्ष औसत आम्दानी कर ८ हजार ६ सय ७३ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर मार्फत् ३ हजार २८ करोड प्राप्त गर्न सक्छ । यो पूँजीगत लगानीबाट कुल कारोबार, औसतमा वार्षिक २६ हजार ३ सय ४७ करोड रुपैयाँ बराबरको सिर्जना गर्दछ । प्रत्यक्ष रोजगारीको क्षेत्रमा झण्डै ६५ हजार अप्रत्यक्ष स्वःव्यवसायिक रोजगारीको क्षेत्रमा झण्डै ३ लाखको हाराहारीमा सिर्जना हुने र रोजगारीको दर प्रत्येक वर्ष २५% का दरले गुणात्मक ढंगले वृद्धि हुँदै जादा ३० वर्षभित्र कुनै पनि नेपाली वैदेशिक रोजजारीमा जानै पर्ने बाध्यता अन्त्य गरिदिन्छ ।
राज्यले यो पूँजी लगानी गरे बापत् ३० वर्षको औसत निकाल्दा वार्षिक १८.३३% जम्मा रु. १२ अर्बभन्दा माथि नियमित आम्दानी गर्न सक्छ । यो आम्दानीलाई पुनः लगानी गर्दा अगामी ३० वर्षभित्र नेपालको कुल बजेटभन्दा ठूलो पूँजीकोष उत्पत्ति गरी नेपाललाई एउटा आर्थिक महाशक्तिको रूपमा उभ्याउने तागत त्यो ६६ अर्ब, जो हामी गुमाउँदै छौं, त्यसले दिने प्रक्षेपण गर्न सकिन्छ । साथै राज्यको मनोबल उच्च बन्दै वास्तविक स्वतन्त्रता, आर्थिक समृद्धिको प्राप्तीबाट मात्रै प्राप्त हुँदोरहेछ भन्ने कुरा राज्यले व्यवहारिक रूपमा बुझ्ने मौका पाउँछ र जर्बजस्त त्यो बाटो सम्हाल्न बाध्य हुन्छ । उच्च मनोबलका साथ व्यवसायिक क्षेत्रमा लगानी, आम्दानी, पुनर्लगानी र निरन्तर लगानीको अवधारणामा अगाडि बढ्नै पर्ने बाटो खुल्नेछ । यही नै लोकतन्त्र हो, स्वाधीनता हो, समाजवादको बाटोमा प्रवेश गर्ने महत्वपूर्ण स्वागतद्वार हो भन्ने कुरा आम रूपमा स्थापित हुन सक्छ ।
निष्कर्षः
यो सामान्य ज्ञानले सिर्जित गरेको कुराभन्दा पनि गम्भिर कल्पनाको प्रतिविम्ब हो । जहिले पनि ज्ञानभन्दा सयौं गुणा शक्तिशाली कल्पना हुन्छ । इमान्दारिताका साथ लाग्ने हो भने यो लक्ष्य भेट्टाउन हामीलाई त्यति लामो समयसम्म कुरिरहनु पर्छ भन्ने हुँदैन । बेलैमा सोचौं हाम्रो आर्थिक स्वाधीनता त्यही पूँजीगत लाभकर भित्र छिपेर बसेको छ ।
फेरि एक पटक, केवल एक पटक उठौं यो मुद्दालाई अन्र्तराष्ट्रियकरण गरौं र हाम्रो स्वाधीनताको हक प्राप्त गरेरै छाड्ने संकल्प गरौं । यसमा नै हामी नेपाली हुनुको शान हुन्छ कि ! साथसाथै भोलिका पुस्ताले हाम्रो पुस्तालाई सम्झन लायक किताबको रूपमा पढ्ने मसला बन्छ कि !!
(रामचन्द्र शर्मा सफल पर्यटन व्यवसायी हुन्)



लाेकपाटी न्यूज

