– पदम राज शर्मा
सानो छँदा भालेको डाँकोसँगै आमाले उठाउनु हुन्थ्यो। भाले बासेको पनि धेरैबेर भैसकेको थियो, सिरानी नजिकै राख्देको चिया पनि वातावरणमा ताप भएसम्म आफैं सोस्ने अवस्थामा पुगिसकेको थियो, आइस जस्तै चिसो। पूर्वी डाँडाबाट घामका उधारो किरण काठका चेप–चेप बाट ओछ्यानसम्म पसारिएका थिए भने खोलाको छ्वाङ्छ्वाङ् आवाज मन्द भैसकेको थियो। उसैत कामको पहाडै फोर्दा लागेको थकाइ अबेरसम्म पनि मैले उठ्ने कुनै चेष्टा नै नगरेको देखेर आमा रिसले काँप्दै सिरक फाल्दिनु भयो ।तर सुँगुरको जस्तो जाँगर भाको म लत्तु स्वाँठ निन्द्रामा पनि निदाएकै सपना देखेको थिएँ।
आमाले झटपट नाकका पोरा थुन्नुभयो, ‘हैन कति गन्हाको ? मुत्छस् कि के हो ? ब्युँझेपछि मुतको चिसो ढाप ढाडमा गढ्यो। आमाले केही थाहा नपाउन् भन्ने हेतुले म रत्तिभर डगिन। आखिर गन्ध न पर्यो, आमा रिसले चुर। ‘लौ हेर ! कट्टुमै पो मुतेछ।’ आमाले झन् जंगिदै कन्चटका रौँ तान्नु भयो र भन्नु भयो–’पख् तँलाई माओवादी लगाई दिन्छु, भन्त अबदेखि मुत्छस् कि मुत्दैनस्।’ सुत्नु भन्दा पहिला आमा आफै जबर्जस्ति पानी पिउन भन्नु हुन्थ्यो। के गरौँ त, रातभरि डरलाग्ने कुरुप अनुहारले मलाई खेदिरहन्थे, निलिरहन्थे। मलाई डर लाग्दैन ? भन्न मन लागेको थियो तर सकिन। जतिपटक सिस्नो पानी लगाए पनि मेरो यो बानी छुटेको थिएन। हँ, माओवादी ? मैले कम्तिमा पाँच पटक मनमनै दोहोर्याएको थिएँ। सर्वथा नयाँ शब्द के होला ? पक्कै सिस्नोभन्दा अझै ख़तरनाक तिनै कुरुप अनुहार हुनुपर्छ, मैले अनुमान गरेको थिएँ। केही म डरले काँपेको थिए। ला ! कट्टुमै पो दिएछु, हातले कट्टु छोपें अनि झटपट म घोप्टो परें। हल्का लाज लाग्ने उमेर सुरु हुँदै थियो।
बानेश्वर, ऐतिहासिक ठाँउ बन्न केही बेर मात्रै कुरिरहेको छ। सबेरैदेखि ठूला–ठूला झुन्डको भार खेपिरहेको बानेश्वर आफैमा चिसो, शान्त र क्लान्त नै देखिन्छ। तर यहाँ उपस्थित सबै उसिनेका आलुजस्तै ताता र भेल जस्तै हतारमा देखिएका छन्। ज्वालामुखि जस्तै अनुहार भएका ती बथानको स्थिति असहज थियो तन्काएर राखेको गुलेलि जस्तो। थाँक्रा ठाडो पार्दै प्रसारणका निम्ति दृश्य खिचिरहेका पत्रकार पनि निकै हतारमा थिए। रंगीन पाटे बर्दिसँगै सुरक्षाकर्मी हाई अलर्टमा लहरै ठिंगै थिए। म नजिकैको झुन्ड विशेष भेषभुषामा थिएँ, जस्का तिघ्रा मोटा तर अनुहामा भने रौँ कम थिए।
यो अजिव दृश्य साइडमा उभिरहेको साथी पनि एकोहाराे ध्यानमा हेरिरहेको थियो। ध्यान भंग गर्दै मैले सोधेँ–यी को हुन् ?
‘छोरा’ उस्ले फिस्स हाँस्दै भन्यो।
अनि यिनका बाउ ?
‘ऊ भित्र’ आँखै अगाडिको भब्य महल तिर ओँठ चुच्याउँदै र चोर औंला तेर्साउँदै भन्यो–’खिचड़ी पकाउँदै।’
मैले रुद्रघंटी तलमाथि गराउदै थुक निले। मेरो साथीले काँतर आँखा र चंचल टाउको पृथ्वीको ग्लोब जस्तै यताउति बटारिरहेका थिए । सायद असमन्जस्य, असहज परिस्थितिमा भाग्ने बानेश्वरका नागबेलि बाटाहरु खोजिरहेको थियो। उता एक साँघुरो कुनामा कुकुरको बर्गिकृत झुन्डहरु झगडा गर्न थालिसकेका थिए।
ड्वांड्वां आवाज, चर्को कोलाहलसहित चिरचिराहटको चर्को आवाज निकाल्दै केही बाउहरु लुला गोडा लतार्दै छोराहरु तिर तन्किए। त्रासदीका धर्का अनुहारभरि कोरिएका थिए भने जिउ पुरै रगतले लतपतिएको थियो। सुरक्षाकर्मीको लाईन हल्लियो र तुरुन्तै पोजिसनमा तन्कियो। क्वाई–क्वाई एम्बुलेन्स र भ्यानहरु भिडलाई ठेल्दै जम्मा भए। भिड तितरबितर, भागाभागको अवस्थामा पुगिसकेको थियो। आफ्नो अधिकार र पहिचान खोज्न जम्मा भएका कैयौँ महिला, बालबालिका, अपांग, अशक्तहरु भुईमा पल्टिरहेका थिए भने सक्नेहरु तिनै माथि कुल्चदै भागिरेहेका थिए। ‘लौ खिचडी पाकेछ भागौं’ यति भन्दै साथीले गोडा उल्टो दिशातिर फर्कायो।
मेरा आँखिभौँ तन्किएर भव्य महलमा ठोकिए। खिचडी ज्वालामुखिको लाभा जस्तै टुक्रिएका गोडा, पाखुरा, टाउको, आन्द्राभुँडीसहित आकाशिएको थियो आकाशमा कावा खाँदै उडिरहेका गिद्दहरु आप्रवासी चराहरुलाई निम्ता दिँदै तलतल तन्किएका थिए। यता बाहिर अचेत भई लडिरहेका घाईते, यत्रतत्र छरिएका बिजोर जुत्ता–चप्पल, कपडाका टुक्रा दखिन्थे।
आकाशमा बादलका टुक्राहरु मडारिरहेका थिए भने चिसो सिरेठोले गति बढाएको देखेपछि अझै अनिष्टकाे संकेत पाउन कुनै गाह्रो मलाई परेन। मैले टाउको बटारेँ साथीहरु टाप कसिकेको मैले पत्तो पाईन। अघिदेखि लडिरहेका कुकुरहरु पनि थियनन् त्यहाँ। मुटुले छाति फोडेर अघि नै भागिसकेको रहेछ। मनमा डरले डेरा जमाइ सकेको थियो। मृत्यु छल्दै सुँईकुच्चा ठोकें।
‘लौ यस्लाई के भयो फेरि ? दीपक पानी लेऊ।’ कसैको आवाजले मलाई बिउँझायो। आँखाका ढक्कन खोलेर नानी घुमाए। ध्रुवले जोड जोडले घरी टाउको त घरी कसिएका खुट्टा थिचिरहेको थियो। दीपक पानी सारिरहेको थियो। रातभरि खिचडी दरो खाइएछ क्यारे ! क्याक्क परेको घाँटीमा उत्पात पीँडा थियो। सुकेको घाँटी पानीले भिजाएँ। मलाई रातभर ऐठन भएको र सुत्न नदिएको साथीहरुले गुनासो गरिरहँदा फेरि आज पनि ढाडमा चिसो ढाप गढ्यो। म लाजले घोप्टो परें। साला, आज पनि आफ्नै ओछ्यानमै पो मुतिएछ। उफ्…!



लाेकपाटी न्यूज

